काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ ।
महानगरको नगर प्रहरीसहित सरोकारवाला पक्षको हिजो बसेको बैठकले आजदेखि अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने निर्णय गरेको हो ।
असरल्ल तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणले १३ वटा रूट तय गरेको छ । टेलिफोन तथा इन्टरनेटलगायतका तारहरू सडक छेउको पोलहरूमा गुजुल्टो परेको, चुँडिएको अवस्थामा रहेको र त्यसले सहरी सौन्दर्यता बिगारेको तथा दुर्घटनाको जोखिम बढाएकाले प्राधिकरणले व्यवस्थापन गर्न लागेको हो।
पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने तयारी छ । माइतीघर मण्डला र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिने नगर प्रहरीले जनाएको छ ।
तार व्यवस्थापनको काममा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिसमेत रहनेछन् ।
सेवा प्रदायकले आ–आफ्नो तारमा सङ्केत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने निर्णयसमेत भएको छ । काठमाण्डौ महानगरपालिकाले सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा सङ्केत चिह्न लगाउन १५ दिनको समय दिएर गएको वैशाख ११ गते सार्वजनिक सूचना निकालेको थियो ।