आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नाराका साथ छैटौँ ‘आईसीटी डे’ मनाउन लागिएको हो ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार दिवसका अवसरमा सूचना प्रविधिको क्षेत्रमा योगदान दिएकालाई सम्मान गरिनेछ ।
सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर थप छलफल र अध्ययन गर्ने उनको भनाइ छ । नेपालमा कम्प्युटर एसोसिएशन नेपाल (क्यान) सन् १९९२ मा स्थापना भएको थियो, क्यान स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो ।
सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारसँगै साइबर अपराध पनि बढ्दै गएको छ । ह्याकिङ, बौद्धिक सम्पत्ति चोरी, क्रेडिट कार्ड क्लोनिङ, फिसिङ, व्यक्तिको मानहानि, सफ्टवेयर पाइरेसी, झुटा इमेल, यौन उत्पीडन, साइबर बुलिङलगायतको जोखिम बढेको छ ।
ह्याकर र साइबर अपराधीले नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी गतिविधिलाई नियालिरहे पनि रोकथाममा प्रभावकारी काम हुन सकेको छैन । राज्यले नागरिकको डाटा सुरक्षा गर्न नसक्दा सरकारी सेवाहरूप्रतिको विश्वास गुुम्दै गएको छ ।