तुलसीपुर । विपदका घटना जुनसुकै बेला आइपर्नसक्ने भएकाले यसको सामना गर्ने नेतृत्व लिन स्थानीय तह नै लाग्नुपर्ने गृहमन्त्रालयका सहसचिव प्रदीप कोइरालाले बताएका छन् ।
आज तुलसीपुर उपमहानगरपालिका दाङले आयोजना गरेको आगलागी ब्यवस्थापन तालिम उद्घाटनलाई सम्बोधन गर्दै सहसचिव कोइरालाले यस्तो बताएका हुन् । उनले नेपालको नयाँ संविधान जारी भएपछि स्थानीय तहमा अनिवार्य दमकल सेवा उपलब्ध गर्ने भनी २०७२ सालदेखि नीति लागू भएको जानकारी गराए ।
सहसचिव कोइरालाले संघीयता पछि धेरै अधिकार स्थानीय तहमा आएकाले विपद सुरक्षाको नेतृत्व पनि अब स्थानीय तहले लिनुपर्ने ब्यवस्था रहेको बताए । युएसएआईडी तयार नेपालको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको आगलागी ब्यवस्थापन पुनर्ताजगी तालिम ५ दिनसम्मका लागि सञ्चालन हुने जानकारी गराइएको छ । तालिम दिने जिम्मेवारी पाएको हिमालयन इन्टिच्युट अफ फायर एण्ड इमर्जेन्सी सर्भिस प्रालि (हाइफेस)ले यूएसएआईडीकै सहयोगमा स्थानीय तहलाई अग्नि नियन्त्रण उपकरणहरु पनि प्रदान गरिरहेको छ ।
कार्यक्रममा युएसएआईडी तयार नेपालकी विपद विशेषज्ञ कृष्णा कार्कीले युएसएआइडीले हाल नेपालमा विपदका ११ पिल्लरमा आधारित रहेर विभिन्न कामहरु गरिररहेको बताइन् । ती मध्येकै विपद पूर्वतयारी कार्यक्रम अन्तर्गत यस्ता तालिमहरु आयोजना गरिएको उनले जानकारी दिइन् । कार्कीले तालिमका सहभागीहरुलाई आफू तन्दरुस्त रहेर सीप सिक्न र प्राप्त भएका सामग्री परेको बेलामा राम्ररी चलाउन सक्ने बन्न आग्रह गरिन् ।
तुलसीपुर उपमहानगरका प्रमुख टीकाराम खड्काको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा मेयर खड्काले सहयोगी निकाय र संस्थाहरुप्रति आफू आभार रहेको बताए । उनले प्राप्त भएको सामग्रीको सदुपयोग गरेर तुलसीपुर र यस आसपासका पालिकाहरुमा समेत आगलागी विपदका बेला सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।
हाइफेसका अध्यक्ष सुशील राउतले तयार नेपाल र गृहमन्त्रालयका प्रतिनिधिको बीचमा नगरपालिकालाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गर्न र तालिम दिन पाएकोमा गौरव अनुभूति भएको बताए । तालिममा तुलसीपुर नगरपालिकाका १२ घोराही नगरपालिकाका ५ लमही नगरपालिकाका २ र गोढवा गाउँपालिकाका २ गरी २१ जना सहभागीहरु रहेका छन् ।
तालिम प्रदान गर्न हाइफेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बुद्द अन्तर्राष्ट्रिय विमानस्थलका अग्नि नियन्त्रक प्रशिक्षकहरुको ब्यवस्था गरेको छ । तालिमको समन्वय तुलसीपुर उमहानगरपालिकाका विपद शाखा प्रमुख टोपबहादुर डाँगी र तयार नेपालका फिल्ड कोअर्डिनेटर श्रमलाल थारु चौधरीले गरेका हुन् ।