अत्तरिया । आगलागीबाट हुने सम्भावित जोखिमबाट सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी अत्तरियालाई सुरक्षित राख्न हाइफेसले आग्रह गरेको छ ।

हिजो (बिहिवार) गोदावरी नगरपालिकाले आयोजना गरेको आगलागी ब्यवस्थापन तालिम समापन कार्यक्रममा हिमालयन इन्स्टिच्यूट अफ फायर एण्ड इमर्जेन्सी सर्भिस (हाइफेस) का अध्यक्ष सुशिल राउतले यस्तो बताएका हुन् ।

अध्यक्ष राउतले यस प्रदेशको केन्द्रमै १५ जना थप फायरफाईटरहरु उत्पादन भैसकेकाले अब यो स्थान आगलागीको खतराबाट मुक्त रहेको जानकारी दिए । सबै फायरफाईटरको आर्थिक सुरक्षाको प्रत्याभूति गराएर नगरपालिका र प्रदेश सरकारले अग्नि नियन्त्रण कार्यमा ध्यान पुर्याउन उनले विशेष अनुरोध गरे ।
युएसएआइडी तयार नेपालको आर्थिक सहयोगमा गोदावरी नगरपालिकाले आयोजना गरेको पाँच दिने आगलागी ब्यवस्थापन पुनर्ताजगी तालिमको सहजीकरण हाइफेसले गरेको थियो । तालिमको समापन गर्दै नगर प्रमुख वीरेन्द्र भट्टले सबैलाई धन्यवाद दिँदै सहभागीहरुलाई आफूले सिकेको सीप नबिर्सन अनुरोध गरे । उनले सबैलाई नगरपालिकाले संरक्षण गर्ने र आवश्यक सुविधाको प्रत्याभूति दिने प्रतिबद्दता ब्यक्त गरे ।

तालिमका प्रशिक्षक आनन्द शर्माले सहभागीहरुलाई आफ्नो सीप राम्रो कामका लागि प्रयोग गर्न अनुरोध गरे । उनले चुप लागेर बसेमा सिकेको सबैकुरा बिर्सने भएकाले बेलाबेला नयाँ सीप र जानकारीहरु लिने अभ्यासलाई निरन्तर जारी राख्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नगरप्रवक्ता गोपालदत्त भट्टले यस क्षेत्रका लागि निकै महत्वपूर्ण योगदान र सहयोग गरेको भन्दै यूएसएआईडी तयार नेपाल र हाइफेसलाई धन्यवाद ज्ञापन गरे । समापन कार्यक्रममा मेयर भट्टले प्रमाणपत्र वितरण गर्दै सहभागीहरुलाई बधाइ दिए । सहभागीले आफूहरुलाई ज्ञान सिकाएको भन्दै हाइफेसको प्रशिक्षक समूहलाई अबिर, खादा लगाएर मायाको चिनो प्रदान गरे ।
कार्यक्रममा उपस्थित भएका वडाअध्यक्ष, सदस्यहरु , नगरपालिका र प्रशिक्षकको समूहलाई तयार नेपालका फिल्ड संयोजक निराजन चौधरीले धन्यवाद ज्ञापन गरे । उनले गोदावरी र कृष्णपुर नगरपालिकाका फायर फाइटरहरुलाई समझदारीपूर्वक आफूले सिकेको ज्ञान अरुलाई पनि बाँड्न अनुरोध गरे ।
