ब्राम्पटन । क्यानडाको ब्राम्पटन शहरमा रहेको रिग्म्याक्स कम्पनीद्वारा युवा व्यवसायी कमल ज्ञवाली सहित १ दर्जन नेपाली ब्यबसायीहरु सम्मानित भएका छन् । सो कम्पनीको वार्षिकोत्सवको अबसरमा युवा ब्यबसायी ज्ञवालीले सिल्भर अवार्ड प्राप्त गरे । रियल स्टेट ब्यबसायमा उत्कृष्ट कार्य गरेको भन्दै उनलाई सो अवार्ड प्रदान गरिएको हो ।
क्यानडामा रहेर रियल स्टेट व्यवसाय गर्दै आएका व्यवसायीहरु कमला तिवारी, इन्द्र खड्का, शिव करन्जित, रामकृष्ण पौडेल, चेत शाही ठकुरी, रमेश खत्री, शिव कंडेल, कमला गैरे, सुर्य सापकोटा विभिन्न अवार्डबाट सम्मानित भएका छन् ।
एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष राज महतले व्यवसायीहरुलाई सम्मानित गरे ।
सो अबसरमा कम्पनी डाईरेक्टर ईश्वर राजन, ऋषि गैरे, अधिवक्ता रमेश कार्की, अधिवक्ता अतुल सुवेदी, रमेश केसी, क्यानडा नेपाल बिज्नेस काउन्सिलका अध्यक्ष डा.पुर्ण कंडेल, प्रकाश ज्ञवाली, कमला तिवारीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष राज महतले क्यानडामा रियल स्टेटको अबस्था र नेपालीहरुले घर जग्गामा लगानी गर्न सक्ने बाताबरणको बारेमा आफ्नो धारणा राखेका थिए ।
हाल ब्राम्प्टनमा रिग्म्याक्स कम्पनीको मुख्य कार्यालय छ भने उक्त कम्पनीले टोरण्टोको स्कारब्रो र लन्डन शहरमा छिट्टै शाखा विस्तार गर्ने अध्यक्ष महतले बताए ।