काठमाडौं । ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिएसँगै कार्यान्वयनमा आउने भएको हो ।
पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न लागिएको छ । नयाँ व्यवस्थाअनुसार ओलम्पिक खेलकुदअन्तर्गत ग्रिष्मकालीन, शीतकालीन र पारा ओलम्पिक सँगै फिफा विश्वकप फुटबलमा पदक विजेतालाई समान पुरस्कारको व्यवस्था गरिएको छ ।
यी खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले एकल खेलतर्फ १ करोड ३० लाख र सामूहिक खेलतर्फ जनही ५२ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । रजत जितेमा एकलतर्फ ९७ लाख र सामुहिक खेलतर्फ जनही ४५ लाख तथा कांस्य जितेमा एकलतर्फ ६५ लाख र सामूहिकतर्फ जनही २६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै स्वर्ण विजेता खेलाडी तथा टिमको प्रमुख प्रशिक्षकले १३ लाख, रजत विजेताले ७ लाख ८० हजार र कांस्य विजेताले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण विजेता खेलाडी तथा टिमको सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले ६ लाख ५० हजार, रजत जितेमा ३ लाख ९० हजार र कांस्य जितेमा २ लाख ९२ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
स्वर्ण, रजत र कांस्य जित्ने खेल संघले क्रमसः १९ लाख ५० हजार, १५ लाख ६० हजार र ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।