काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल 'टाइ' भएको छ । अमेरिकाको टेक्ससमा आज बिहान भएको खेलमा नेपाल र अमेरिकाबीचको रोमान्चक खेल 'टाइ' भएको हो।
मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल 'टाइ' भएको हो । अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले ।
यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए । नेपालका आदील आलमले २ विकेट लिए । जित उन्मुख अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे ।
अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको थियो । तर,आदीलले पाँच रन खर्चिदै खेल टाइ गराए । रोमान्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौं बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल टाइ भयो । आदील प्लेयर अफ द म्याच चुनिए ।
यस्तै कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बल अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो । नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले ।
खेल टाइ भएपछि नेपाल र अमेरिकाले एक एक अंक पाएका छन् । लिग टु मा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २२ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो। अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मंगलबार र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध बुधबार खेल्ने तालिका रहेको छ ।