काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षससहित सात पदाधिकारीले केन्द्रीय कार्यसमितिको बैठक माग गर्दै बिहीबार एन्फा सचिवालयमा निवेदन दर्ता गरेका छन्।
उनीहरूले बैठकको माग गरे पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्ता गर्दै आएको आरोप पनि लगाएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्का, सदस्यहरू किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले कार्यकारी समितिको बैठक माग गर्दै निवेदन दर्ता गरेका हुन्।
संयुक्त रुपमा दर्ता गरिएको निवेदनमा उनीहरूले ‘लामो समयदेखि बस्न नहुँदा महत्वपूर्ण विषयहरूमाथि छलफल नभएकोले खेलको विकासमा गतिरोध देखापरेको तथा विधि–प्रक्रियाविहीन ढंगबाट संघ सञ्चालन नभएको’ आरोप पनि लगाएका छन् । साथै, जिल्ला, प्रदेश र राष्ट्रिय लिग तथा राजधानीका ए, बी र सी डिभिजन लिग सञ्चालनबारे छलफललाई बेवास्ता गरेको दाबी पनि गरिएको छ।
निवेदनमा लेखिएको छ, ‘आवश्यक विषयहरूमा समेत छलफल गर्न संघको अध्यक्षज्यूलाई पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता गर्नुभएकोले संघको विधानको धारा ३७ (उपधारा २) बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं ।’
एन्फाको कायसमिति बैठक पछिल्लोपटक २०७७ माघ ५ गते बसेको थियो । त्यसयता दुईपटक चार पदाधिकारीले बैठकको माग गरे पनि एन्फा नेतृत्वले बेवास्ता गर्दै आएको छ। कार्यसमितिको निर्णयबिना नै एन्फा नेतृत्वले ’ए’ डिभिजन लिगलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनीहरूको आरोप छ ।