काठमाडौं । मलेसिया जाने नेपाली कामदारको भर्ती प्रक्रियामा आगामी नोभेम्बर ५ अर्थात् कात्तिक १९ गतेदेखि नयाँ व्यवस्था लागू हुने भएको छ। नयाँ व्यवस्थाअनुसार नेपालबाट मलेसिया कामदार पठाउने प्रक्रिया मुख्य भर्ती संस्था र सहायक भर्ती संस्थामार्फत अघि बढाइने भएको हो।
मलेसिया सरकारसँग आबद्ध विदेशी कामदार व्यवस्थापन प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट कम्पनीले नेपालका लागि नयाँ व्यवस्था लागू गर्न लागेको जानकारी दिएको छ। नयाँ व्यवस्थाअनुसार हाल विदेशी कामदार व्यवस्थापन प्रणालीमा दर्ता भएका नेपालका २५ वटा मुख्य भर्ती संस्था र २५० वटा सहायक भर्ती संस्था गरी जम्मा २७५ वटा संस्थाबाट मात्रै नेपाली कामदार मलेसिया पठाउने प्रक्रिया अघि बढ्नेछ।
नयाँ व्यवस्था लागू हुनुअघि पुरानो प्रणालीबाट प्रक्रियामा रहेका कामदारका लागि भने निश्चित समयसीमा तोकिएको छ। बेस्टिनेटले जारी गरेको सूचनाअनुसार नेपाली कामदारको स्वास्थ्य परीक्षण दर्ताका लागि असोज २९ गतेसम्मको समय तोकिएको छ।
उक्त मितिसम्म कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी विवरण विदेशी कामदार व्यवस्थापन प्रणालीमा सफलतापूर्वक दर्ता भइसकेको हुनुपर्नेछ। स्वास्थ्य परीक्षण केन्द्रहरूले पनि परिचय तथा जैविक विवरण दर्ता, स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, पुनः परीक्षण, स्वास्थ्य परीक्षणसम्बन्धी समीक्षा तथा आवश्यक विवरण सच्याउने काम सोही समयभित्र पूरा गर्नुपर्नेछ।
त्यस्तै, यसअघि स्वास्थ्य परीक्षण गरिसकेका र बोलावट भिसा प्राप्त गरी भिसा आवेदन प्रक्रियामा रहेका कामदारका लागि कात्तिक १४ गतेसम्मको समय तोकिएको छ। पुरानो प्रणालीबाट अघि बढिरहेका यस्ता कामदारको बाँकी स्वास्थ्य परीक्षण तथा भिसासम्बन्धी प्रक्रिया समयमै पूरा गर्न बेस्टिनेटले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
कात्तिक १९ गतेदेखि भने नयाँ मुख्य तथा सहायक भर्ती संस्था प्रणालीबाट नयाँ स्वास्थ्य परीक्षण दर्ता सुरु हुनेछ। त्यसका लागि कात्तिक १० गते मुख्य भर्ती संस्थाको प्रणाली दर्ता तथा खाता सक्रियतासम्बन्धी तालिम सञ्चालन गर्ने र कात्तिक १८ गते आधिकारिक निमन्त्रणा तथा प्रणालीको पहुँच उपलब्ध गराउने बेस्टिनेटले जनाएको छ।
तर कुनै भर्ती संस्थाको प्रणालीमा दर्ता वा खाता सक्रिय हुँदैमा त्यसले मलेसिया सरकार वा बेस्टिनेटबाट औपचारिक स्वीकृति पाएको अर्थ नलाग्ने पनि स्पष्ट पारिएको छ। भर्ती संस्थालाई स्वीकृति दिने तथा भिसा आवेदनमाथि निर्णय गर्ने अधिकार सम्बन्धित मलेसियाली सरकारी निकायमै रहनेछ।
नयाँ व्यवस्था लागू हुँदैमा अहिले भइरहेको स्वास्थ्य परीक्षण सेवा तत्काल बन्द हुने वा पुराना कामदारका स्वास्थ्य परीक्षण विवरण स्वतः रद्द हुने अवस्था भने नरहेको बेस्टिनेटले स्पष्ट पारेको छ। संक्रमणकालीन अवधिमा पुराना विवरण सुरक्षित राख्न तथा नयाँ प्रणालीमा जाने नाममा दोहोरो दर्ता वा अनावश्यक पुनः स्वास्थ्य परीक्षण नगर्न स्वास्थ्य परीक्षण केन्द्रलाई निर्देशन दिइएको छ।
मलेसियाले यसअघि नै आफ्ना रोजगारदाता तथा उद्योगहरूलाई नेपालका २५ मुख्य भर्ती संस्था र २५० सहायक भर्ती संस्थाको सूची पठाउँदै ती संस्थामार्फत मात्रै नेपालबाट कामदार ल्याउन निर्देशन दिएको थियो। तर नेपाल सरकारले भने २५ मुख्य र २५० सहायक भर्ती संस्थामार्फत मात्रै कामदार पठाउने मलेसियाको निर्णयप्रति असहमति जनाउँदै आएको छ। यस विषयमा दुई देशबीच राजनीतिक तथा कूटनीतिक तहमा संवाद र पत्र आदानप्रदानसमेत हुँदै आएको छ।
अब नयाँ प्रणाली कार्यान्वयनसँगै नेपाली कामदारको मलेसिया जाने प्रक्रियामा भर्ती संस्था, स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाबीचको समन्वय नयाँ संरचनाअनुसार अघि बढ्नेछ।
विशेषगरी अहिले प्रक्रियामा रहेका कामदारका लागि असोज २९ र कात्तिक १४ गतेका समयसीमा महत्वपूर्ण देखिएका छन्। त्यसपछि भने नयाँ प्रणालीअनुसार मात्रै मलेसिया जाने कामदारको प्रक्रिया अघि बढ्ने भएकाले सम्बन्धित कामदार र भर्ती संस्थाले आफ्नो प्रक्रिया कुन चरणमा छ भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।