काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र संगठनात्मक जिम्मेवारी बाँडफाँट गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले ६ वटा विभागका प्रमुख नियुक्त गर्नुका साथै विभिन्न पदमा नयाँ जिम्मेवारी तोकेको हो।
रास्वपाका अनुसार पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुखमा शिशिर खनाल, अर्थ विभाग प्रमुखमा लिमा अधिकारी र संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने नियुक्त भएका छन्।
त्यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरू र जनस्वास्थ्य विभाग प्रमुखमा तोसिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।
११ जना सचिवालय सदस्य मनोनीत
केन्द्रीय समिति बैठकले ११ जनालाई सचिवालय सदस्यमा पनि मनोनीत गरेको छ।
सचिवालय सदस्यमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव रहेका छन्।
९ जना केन्द्रीय सदस्य थपिए
त्यस्तै पार्टीको केन्द्रीय सदस्यमा ९ जना मनोनीत भएका छन्। भूपदेप शाह, सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भानुभक्त राई केन्द्रीय सदस्यमा मनोनीत भएका हुन्।
पदाधिकारीमा पनि जिम्मेवारी हेरफेर
रास्वपाले पदाधिकारीको जिम्मेवारीसमेत तोकेको छ। सह-महामन्त्रीमा पुरुषोत्तम यादव, प्रवक्तामा जगदीश खरेल, सह-प्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरी तथा कोषाध्यक्षमा मनोहर प्रधान मनोनीत भएका छन्।
त्यस्तै सहकोषाध्यक्षमा बसुमाया तामाङलाई जिम्मेवारी दिइएको छ।
पार्टीले विभागीय जिम्मेवारीदेखि सचिवालय, केन्द्रीय सदस्य तथा पदाधिकारीसम्म संगठनात्मक संरचनामा नयाँ जिम्मेवारी बाँडफाँट गरेसँगै रास्वपाभित्र संगठन विस्तार र व्यवस्थापनलाई थप व्यवस्थित गर्ने प्रयासका रूपमा यसलाई हेरिएको छ।