काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित वर्तमान सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्न सुझाव दिएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठनका लागि रास्वपा सभापति लामिछानेले तत्काल पहल गर्नुपर्ने बताएका हुन्। थापाले सरकारको पुनर्गठन नगरे मुलुकमा ठूलो राजनीतिक आन्दोलनको अवस्था आउन सक्ने चेतावनीसमेत दिए। उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा जनअसन्तुष्टि बढ्दै गएको दाबी गरे।
“रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्छ,” थापाले भने। उनले सरकार पुनर्गठनका लागि पहल नगरे जनतासँग आन्दोलनको विकल्प बाँकी रहने संकेत गरे। थापाले मुलुकमा विगतका ठूला राजनीतिक परिवर्तनभन्दा पनि व्यापक जनआन्दोलन हुन सक्ने चेतावनी दिएका छन्।
“अन्तिम विकल्प बाँकी छ । अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाको सवाल पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट २००७ साल, २०४७ साल, २०६२ सालको भन्दा विशाल अल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ,” उनले भने।
एमाले नेताको यस्तो अभिव्यक्तिले वर्तमान सरकारको नेतृत्व, कार्यशैली र राजनीतिक स्थायित्वलाई लिएर संसद्मा नयाँ बहस सिर्जना गरेको छ। सरकार पुनर्गठनको माग र सम्भावित जनआन्दोलनको चेतावनीले आगामी राजनीतिक घटनाक्रमप्रति थप चासो बढाएको छ।