काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा उत्पन्न तनाव तथा झडपका घटनाबारे छानबिन गर्न गठित दुई छुट्टाछुट्टै समितिले आफ्नो प्रतिवेदन बुझाएका छन्। गृह मन्त्रालयलाई बुझाइएका यी प्रतिवेदनहरूमा दुवै घटनाका चारैजना मृतकहरूको ज्यान सुरक्षाकर्मीले चलाएको गोली लागेर नै गएको निष्कर्ष निकालिएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीचको विवाद र झडप नियन्त्रणमा लिने क्रममा तथा साउन १४ गते सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा मानवीय क्षति भएपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले सुनसरीको कप्तानगञ्ज घटना र अर्का सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित समितिले सिरहाको गोलबजार घटनाको छानबिन गरेका हुन्।
सुनसरीको कप्तानगञ्जमा भएको झडपमा परी ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताले ज्यान गुमाएका थिए। छानबिन समितिको प्रतिवेदन अनुसार उक्त स्थानमा स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फबाट कुल २० राउण्ड गोली चलेको भेटिएको छ।स्थानीयहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाश कुमार श्रेष्ठ घाइते भएपछि स्थिति नियन्त्रणमा लिन इन्स्पेक्टर राई र पछि थप मद्दतका लागि पुगेका सशस्त्र प्रहरीका सुरक्षाकर्मीले समेत गोली चलाएको र सोही कारण मानवीय क्षति हुन पुगेको छानबिनबाट खुलेको छ।
सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। छानबिन समितिको निष्कर्ष अनुसार गोलबजारमा सशस्त्र प्रहरीबाट कुनै पनि गोली चलेको छैन। तर, भिड नियन्त्रणमा खटिएका इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीले बोकेको पेस्तोलबाट २ राउण्ड गोली चलेको र सोही गोली लागी यादवको मृत्यु भएको पाइएको छ। घटनालगत्तै प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर केसीलाई त्यहाँबाट हटाएको थियो। घटनाका समयमा प्रदर्शनकारी वा अन्य बाहिरी पक्षबाट पनि हतियार चलाइएको भन्ने विभिन्न अफवाहहरू फैलिएका थिए। तर, छानबिन समितिले सुरक्षाकर्मीबाहेक अन्यत्रबाट कुनै पनि किसिमको हतियार प्रयोग नभएको स्पष्ट पारेको छ।
यस्तै, लहानमा प्रदर्शनका क्रममा सहायक हवल्दार नारद परियारलाई गोली लागेको भनिए पनि छानबिनका क्रममा उनलाई बाहिरी हतियारबाट गोली नलागेको पुष्टि भएको छ।कारबाहीको सिफारिस र सुरक्षा सुधारका सुझावदुवै घटनाको गहिरो अध्ययन गर्दै छानबिन समितिले फिल्डमा सुरक्षा व्यवस्थापन मिलाउन नसक्ने तथा गम्भीर लापरवाही गर्ने दोषी सुरक्षा अधिकृतहरूलाई कानुनी कारबाही गर्न सिफारिस गरेको छ।
घटनाको सामाजिक, धार्मिक तथा सुरक्षात्मक पाटोबाट विस्तृत विश्लेषण गरी तयार पारिएको यो प्रतिवेदनमा भविष्यमा यस्ताखाले हिंसात्मक तथा असहज परिस्थिति दोहोरिन नदिन अपनाउनुपर्ने अल्पकालीन तथा दीर्घकालीन उपायहरूसमेत सुझाइएको छ।