काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठक आठ महिनापछि बस्ने भएको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा राखेप अध्यक्ष सस्मित पोखरेलले आगामी २८ साउन (बिहीबार) का लागि बोर्ड बैठक आह्वान गरेका हुन्।
गत पुस ९ गते सम्पन्न १२४औँ बैठकपछि पहिलो पटक बस्न लागेको यस बैठकलाई नेपाली खेलकुदका लागि महत्वपूर्ण मानिएको छ। बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति निर्धारण गर्नेदेखि २०औँ एसियाली खेलकुदका लागि सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरूको अनुमोदन गर्ने मुख्य एजेन्डा समावेश गरिएको छ।
बैठकले २०औँ एसियाली खेलकुदको सञ्चालन तथा व्यवस्थापन निर्देशिका, तयारी र सहभागितासम्बन्धी बजेट तथा नर्म्स पनि अनुमोदन गर्ने तयारी गरेको छ। यस्तै, दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेल, प्रतियोगिता सञ्चालन निर्देशिका तथा आयोजनासम्बन्धी बजेटबारे पनि निर्णय हुने अपेक्षा गरिएको छ।
यसका अतिरिक्त परिषद्को चालु आर्थिक वर्ष २०८३/८४ को विनियोजित बजेट, आन्तरिक आय-व्यय, प्राविधिक कर्मचारी र कानुनी सल्लाहकार करारमा नियुक्त गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ। पूर्वाधार निर्माणका लागि इन्जिनियर तथा सूचना प्रविधि (आईटी) विज्ञ करारमा लिने एजेन्डा पनि बैठकमा प्रस्तुत गरिनेछ।
बोर्ड बैठकमा ग्रासरुट खेलकुद कार्यक्रम सञ्चालन, खेल संघलाई अनुदान वितरण, खेलाडी कल्याणकारी कोष सञ्चालन मापदण्ड, खरिद शाखा स्थापना अनुमोदन, अखिल नेपाल फुटबल संघ ९एन्फा० सम्बन्धी विषय तथा विभिन्न खेल संघहरूको नवीकरणसम्बन्धी प्रस्ताव पनि छलफलका लागि समावेश गरिएको छ।
लामो समयपछि बस्न लागेको राखेप बोर्ड बैठकबाट नेपाली खेलकुदका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू हुने अपेक्षा गरिएको छ।