काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नै पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति संसदमै असन्तुष्टि व्यक्त गरेका छन्। जनताले अपेक्षा गरेअनुसार सरकारको काम अघि बढ्न नसकेको भन्दै उनीहरूले सेवा प्रवाह, सुशासन र कार्यसम्पादनमा सुधार आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरू रमेश प्रसाई, मनिष झा र टीका (ज्वाला) संग्रौलाले सरकारको नियतप्रति शंका नभए पनि कार्यशैली प्रभावकारी हुन नसक्दा नागरिकले सास्ती भोग्नुपरेको टिप्पणी गरे। सांसद रमेश प्रसाईले निर्वाचनका बेला गरिएको ‘नो लाइन, केवल अनलाइन’ भन्ने प्रतिबद्धता स्मरण गराउँदै अहिले पनि नागरिक ग्यास, सेवा र अन्य कामका लागि लाइनमा बस्न बाध्य भएको बताए। अनलाइन सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको र बारम्बार सर्भर समस्या दोहोरिने गरेको उल्लेख गर्दै उनले नागरिकलाई प्रविधिको नाममा दुःख नदिन सरकारलाई आग्रह गरे।
सांसद मनिष झाले सरकारको नियत सकारात्मक भए पनि काम गर्ने शैलीमा कमजोरी रहेको बताए। मधेसका सीमाक्षेत्रमा गरिब नागरिकलाई अनावश्यक सास्ती दिने तर एयरपोर्टमा धनीलाई सहजता दिने प्रवृत्ति विभेदपूर्ण भएको उनको टिप्पणी थियो। उनले निजी क्षेत्र र वैदेशिक लगानीकर्तामा असुरक्षाको भावना बढेको भन्दै सरकारलाई विश्वासको वातावरण निर्माण गर्न आग्रह गरे।
त्यस्तै, सांसद टीका (ज्वाला) संग्रौलाले पनि सरकारले जनअपेक्षाअनुसार गति लिन नसकेको बताइन्। राज्यका विभिन्न निकायमा हुने ढिलासुस्ती, कमजोर सेवा प्रवाह र सुशासनको अभावका कारण सर्वसाधारणमा निराशा बढ्दै गएको उल्लेख गर्दै उनले भाषणभन्दा परिणाममुखी काममा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिइन्।
रास्वपाका तीनै सांसदले सरकारले सार्वजनिक गरेका नीति, योजना र प्राथमिकतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै मधेसका समस्या, निजी क्षेत्रको सुरक्षा तथा डिजिटल नेपालको अवधारणालाई व्यवहारमा उतार्न सरकारलाई विशेष सुझाव दिएका छन्।