काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले राष्ट्रिय सार्वभौमसत्ता, आन्तरिक सुरक्षा र जनसरोकारसँग सम्बन्धित विभिन्न विषय उठाउँदै सरकारसँग जवाफ माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै राईले लिपुलेक क्षेत्रमा भारत र चीनबीच व्यापारिक गतिविधि सुरु भएको विषयमा सरकारले संसदलाई स्पष्ट जानकारी गराउनुपर्ने माग गरे। नेपालको भूमिमा भइरहेका गतिविधिबारे राज्य मौन रहन नहुने उनको भनाइ थियो।
राईले देशमा ‘हिन्दु सम्राट सेना’ जस्ता निजी दस्ताहरू सक्रिय भएकोप्रति पनि आपत्ति जनाउँदै यस्ता गतिविधिमाथि तत्काल छानबिन गरी नियन्त्रण गर्न सरकारसँग आग्रह गरे। नेपाली सेनाबाहेक अन्य कुनै पनि समूहले सेनाको नाममा गतिविधि सञ्चालन गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने उनको धारणा थियो।
उनले मधेसका दलित समुदायले अझै पनि सार्वजनिक धारामा पानी भर्न नपाउने अवस्था रहेको उल्लेख गर्दै जातीय विभेद अन्त्य गर्न प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरे। साउन ५ गते जानकी मन्दिरमा आफ्नो पार्टीका कार्यकर्तामाथि भएको दुर्व्यवहारको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पनि उनले माग गरे। सांसद राईले वास्तविक सुकुमबासीलाई धनीपूर्जा वितरण प्रक्रिया तत्काल सुरु गर्नुपर्ने, वर्षौंदेखि बचत फिर्ताको प्रतीक्षामा रहेका सहकारी पीडितको रकम फिर्ता गराउन प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता औँल्याए।
त्यसैगरी, बजारमा पैसा तिर्दा पनि ग्यास र इन्धन सहज रूपमा नपाइने अवस्था अन्त्य गर्न आपूर्ति प्रणाली सुधार गर्न तथा विकास आयोजनाका ठेक्काहरू समयमै अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। उनले सरकारले आश्वासनभन्दा बढी परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका गुनासा सम्बन्धित नेपाली दूतावासले पर्याप्त रूपमा नसुनेको उल्लेख गर्दै राईले परराष्ट्र मन्त्रालयलाई श्रमिकका समस्या समाधानमा प्रभावकारी पहल गर्न पनि आग्रह गरे।