काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध निर्माण रोकिएपछि स्थानीय बासिन्दा आफैँ गाउँ जोगाउने अभियानमा जुटेका छन्। नारायणी नदीको बढ्दो बहावले बस्ती डुबान र कटानको उच्च जोखिममा परेपछि सुस्ताबासीले जनश्रमदान र आफ्नै स्रोतसाधन प्रयोग गरेर अस्थायी तटबन्ध निर्माणलाई तीव्रता दिएका हुन्।
स्थानीयका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भए पनि भारतीय पक्षले काम गर्न नदिएपछि गाउँ जोगाउने जिम्मा अन्ततः स्थानीयकै काँधमा आएको हो। सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले अहिले नदीको बहाव सीधै बस्तीतर्फ मोडिने खतरा बढेकाले तत्काल अस्थायी तटबन्ध निर्माण गर्नुको विकल्प नरहेको बताए।
उनका अनुसार स्थानीयले आफ्नै मेसिन, श्रम र आर्थिक स्रोत प्रयोग गर्दै बाँस, रुखका हाँगा, नायलन क्रेट तथा बालुवा-गिट्टी भरिएका बोरामार्फत नदीको बहाव मोड्ने प्रयास गरिरहेका छन्। भेलडारको रुख र सिमल क्षेत्र विशेष जोखिममा रहेकाले त्यही क्षेत्रमा निर्माण कार्यलाई प्राथमिकता दिइएको छ।
केही दिनअघि स्थानीयले बनाएको अस्थायी तटबन्ध भारतीय सुरक्षाकर्मीले भत्काइदिएको र त्यसक्रममा प्रतिकार गर्दा केही नेपाली घाइतेसमेत भएको स्थानीयको भनाइ छ। त्यस घटनापछि भने सुस्ताका युवा, महिला र ज्येष्ठ नागरिकसमेत थप संगठित भएर गाउँ बचाउने अभियानमा निरन्तर खटिएका छन्। लगातारको वर्षासँगै नारायणी नदीको जलसतह बढ्दै जाँदा कटानको जोखिम पनि तीव्र बनेको छ। स्थानीयले आफ्नै प्रयासबाट तत्कालका लागि केही राहत मिल्ने विश्वास गरे पनि यो स्थायी समाधान नभएको बताएका छन्।
स्थानीय बासिन्दाले नेपाल सरकारले भारतसँग उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको पक्की तटबन्ध निर्माण तत्काल सुचारु गराउन माग गरेका छन्। उनीहरूका अनुसार नदीको बहाव अझ बढे ठूलो धनजनको क्षति हुन सक्ने भएकाले गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तत्काल पहल गर्नुपर्ने आवश्यकता रहेको छ।