काठमाडौं । युक्रेनको राजधानी किभ नजिक आयोजित ड्रोन प्रविधि प्रदर्शनीमा रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्। पछिल्लो समय युक्रेन-रुस युद्धमा भएको यो सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका अधिकारी, ड्रोन निर्माता तथा प्रविधि विशेषज्ञहरूको सहभागिता रहेको प्रदर्शनीलाई लक्षित गर्दै दिउँसो तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको थियो। आक्रमणमा प्रदर्शनी स्थलमै कम्तीमा १० जनाको ज्यान गएको जनाइएको छ। युक्रेनी वायुसेनाले रुसले प्रहार गरेका तीनमध्ये एउटा मात्रै मिसाइल आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको जनाएको छ। बाँकी दुई मिसाइल प्रदर्शनी क्षेत्रमा खस्दा ठूलो मानवीय क्षति भएको बताइएको छ।
यसैबीच, पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ भने उत्तरी सुमी क्षेत्रमा पनि दुई जनाले ज्यान गुमाएका छन्। विभिन्न स्थानमा भएका यी आक्रमणपछि युक्रेनभर सुरक्षा सतर्कता बढाइएको छ। आक्रमणअघि राष्ट्रपति जेलेन्स्कीले रुसले आगामी ४८ घण्टाभित्र ठूलो मिसाइल आक्रमण गर्न सक्ने गुप्तचर सूचना प्राप्त भएको सार्वजनिक गरेका थिए। त्यसको केही समयमै किभ नजिकको प्रदर्शनी स्थलमा आक्रमण भएपछि सुरक्षा संयन्त्रमाथि पनि प्रश्न उठ्न थालेको छ।
उता, रुसले भने आक्रमणको पुष्टि गर्दै यो नागरिकमाथिको नभई सैन्य लक्ष्यविरुद्धको कारबाही भएको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयले ड्रोन निर्माता, युक्रेनी ड्रोन फोर्सका प्रतिनिधि तथा रुसविरुद्ध आक्रमणको योजना बनाउने सुरक्षा अधिकारीहरू उपस्थित रहेको स्थानमा उच्च सटीकतायुक्त लामो दूरीका हतियार प्रयोग गरिएको जनाएको छ।घटनापछि युक्रेनका महान्यायाधिवक्ताको कार्यालयले यस्तो प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो, सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा औपचारिक अनुसन्धान सुरु गरेको छ। सार्वजनिक रूपमा प्रचारप्रसार गरेर संवेदनशील कार्यक्रम आयोजना गरिएको भन्दै युक्रेनभित्रै सरकारको आलोचना भइरहेको छ।
यता, युक्रेनले पनि रुसभित्र आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। शुक्रबार रुसको किरोभ शहरस्थित एक सैन्य उद्योगमा गरिएको युक्रेनी आक्रमणमा छ जनाको मृत्यु भएको र २६ जना घाइते भएको रुसी पक्षले जनाएको छ। युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका गोदामहरूमा समेत ड्रोन आक्रमण गरेको दाबी गरिएको छ। यसैबीच, राष्ट्रपति जेलेन्स्की आगामी साता अमेरिका भ्रमणमा जाने तयारीमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने अपेक्षित भेटवार्तामा युक्रेन-रुस युद्ध अन्त्यका लागि सम्भावित शान्ति वार्ताबारे छलफल हुने बताइएको छ। युद्धका बीच भइरहेको यो कूटनीतिक पहललाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।
यस घटनाले युक्रेन-रुस युद्ध अझ जटिल र घातक बन्दै गएको संकेत दिएको छ। दुवै पक्षले एकअर्काका सैन्य तथा रणनीतिक संरचनामाथि आक्रमणलाई निरन्तरता दिइरहेका बेला नागरिक सुरक्षामाथिको चुनौती झन् गम्भीर बन्दै गएको विश्लेषण गरिएको छ।