एजेन्सी । अमेरिका र इरानबीचको सैन्य द्वन्द्व झन् तीव्र बन्दै गएको छ। अमेरिकी सेनाले इरानमाथि लगातार १३औँ रातसम्म हवाई आक्रमण जारी राखेको छ भने होर्मुज जलमार्गलाई केन्द्रमा राखेर विकसित घटनाक्रमले विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर चिन्ता थपेको छ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार पछिल्लो सैन्य कारबाहीको उद्देश्य इरानको त्यस्तो सैन्य क्षमता कमजोर बनाउनु हो, जसबाट उसले होर्मुज जलमार्ग हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय व्यापारिक जहाज र समुद्री यातायातमा खतरा सिर्जना गरिरहेको अमेरिकी दाबी छ। अमेरिकाले जलमार्ग सुरक्षित राख्न आवश्यक कारबाही जारी रहने स्पष्ट पारेको छ।
उता, इरानका सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, केश्म द्वीप, एन्दिमेश्क र ओमिदियेह आसपास शक्तिशाली विस्फोट भएको पुष्टि गरेका छन्। यद्यपि ती आक्रमणबाट भएको क्षतिको आधिकारिक विवरण भने अझै सार्वजनिक गरिएको छैन। यसैबीच, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर क्षेत्रमा साउदी अरेबियाका दुईवटा तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेका छन्। साथै, होर्मुज जलमार्ग बन्द भएको दाबी गर्दै अन्य महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गहरूमा समेत अवरोध सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।
विश्वको करिब २० प्रतिशत कच्चा तेल र प्राकृतिक ग्यास यही होर्मुज जलमार्ग हुँदै ओसारपसार हुने भएकाले त्यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा तत्काल प्रभाव देखिएको छ। ब्रेन्ट क्रुड तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ, जुन पछिल्ला केही महिनाकै उच्च स्तर हो।
बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत जहाजहरूमाथि हुने थप आक्रमणका लागि इरानलाई प्रत्यक्ष जिम्मेवार ठहर गरिने बताएका छन्। ट्रम्पले हुथी विद्रोहीहरू इरानको प्रत्यक्ष समर्थनमा सञ्चालन भइरहेको आरोप लगाउँदै भविष्यमा यस्ता गतिविधि दोहोरिए दुवैले गम्भीर सैन्य परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
विश्लेषकहरूका अनुसार यदि होर्मुज जलमार्ग लामो समयसम्म अवरुद्ध भयो भने विश्वव्यापी ऊर्जा आपूर्ति, इन्धनको मूल्य, ढुवानी लागत र महँगीमा व्यापक असर पर्नेछ। यसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने र मध्यपूर्वको द्वन्द्व अझ व्यापक क्षेत्रीय संकटमा रूपान्तरण हुन सक्ने जोखिम बढेको उनीहरूको आकलन छ।