काठमाडौं । काठमाडौं उपत्यकाबाट हटाइएका सुकुम्बासी परिवारको दीर्घकालीन व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै सरकारको कार्यशैलीप्रति असन्तुष्टि देखिन थालेको छ। बस्ती हटाउने निर्णयपछि प्रभावित परिवारको पुनर्स्थापना अपेक्षाअनुसार अघि नबढेको भन्दै पार्टीका नेताहरूले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाउन थालेका हुन्।
रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत सरकारको कदम पार्टीको वाचापत्र र सार्वजनिक प्रतिबद्धताअनुसार नभएको टिप्पणी गरेकी छन्। उनले वास्तविक सुकुम्बासीको पहिचान र सम्मानजनक पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्नेमा त्यसतर्फ अपेक्षित प्रगति हुन नसकेको संकेत गरेकी हुन्।
यता, पार्टी स्रोतका अनुसार सभापति रवि लामिछाने पनि सुकुम्बासी परिवारलाई दीर्घकालीन समाधान नदिई बिचल्लीमा पारिएको अवस्थाप्रति असन्तुष्ट छन्। स्रोतले जनाएअनुसार प्रभावित परिवारको व्यवस्थापनमा सरकारले अपेक्षित संवेदनशीलता देखाउन नसकेको विषयमा पार्टीभित्र छलफलसमेत भइरहेको छ।
सरकारले थापाथलीलगायत नदी किनारका बस्ती हटाएपछि सयौं परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो। तर, अढाई महिना बितिसक्दा पनि धेरै परिवारको स्थायी पुनर्स्थापना हुन नसकेको, केहीलाई होल्डिङ सेन्टरबाट समेत हटाइएको र उनीहरू फेरि अनिश्चित अवस्थामा पुगेको भन्दै आलोचना बढ्दै गएको छ।
रास्वपाका नेताहरूका अनुसार बस्ती हटाउनुअघि वास्तविक सुकुम्बासीको पहिचान गरी छिट्टै व्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको थियो। तर, कार्यान्वयनमा ढिलाइ हुँदा प्रभावित परिवारहरू अहिले पनि स्थायी बसोबासको प्रतीक्षामा छन्। उनीहरू समाधानको माग गर्दै निरन्तर पार्टी नेतृत्व तथा सम्बन्धित निकायसँग पहल गरिरहेका छन्।
सुकुम्बासी व्यवस्थापनको विषय अहिले केवल मानवीय समस्या मात्र नभई सरकारको नीति, कार्यक्षमता र सार्वजनिक प्रतिबद्धताको परीक्षणका रूपमा पनि हेरिएको छ। दीर्घकालीन समाधान कहिले र कसरी आउँछ भन्ने प्रश्न भने अझै अनुत्तरित छ।