काठमाडौं । सरकारले राहदानी छपाइ तथा वितरण प्रणालीलाई थप सुरक्षित, आधुनिक र दीर्घकालीन रूपमा प्रभावकारी बनाउन नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ। यससँगै आगामी एक हप्तासम्म राहदानी सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले आगामी सोमबारदेखि नयाँ कम्पनीमार्फत राहदानी छपाइ सुरु हुने जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय बोलपत्रमार्फत अघिल्लो वर्ष नै नयाँ कम्पनी छनोट भए पनि कानुनी तथा प्राविधिक प्रक्रियाका कारण कार्यान्वयनमा केही ढिलाइ भएको थियो।
मन्त्री खनालले राहदानी अभाव हुन नदिन यसअघि कार्यरत कम्पनीलाई ‘भेरिएसन अर्डर’ मार्फत थप सात लाख प्रति राहदानी छाप्ने जिम्मेवारी दिइएको बताए। नयाँ सरकार गठन हुँदा करिब साढे दुई लाख राहदानी मौज्दात रहेको र ती प्रयोग नगरी नयाँ प्रणालीमा जाँदा राज्यलाई करिब २५ लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने भएकाले मौज्दात सकिएपछि मात्र नयाँ प्रणाली लागू गरिएको उनको भनाइ छ।
नयाँ प्रणाली कार्यान्वयनसँगै करिब एक करोड नेपाली नागरिकको डिजिटल विवरण नयाँ प्रणालीमा स्थानान्तरण गर्नुपर्ने भएकाले केही दिन सेवा प्रभावित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यही तयारीका लागि मंगलबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूबाट नयाँ राहदानी आवेदन लिने कार्य स्थगित गरिएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागको सेवा पनि दुई दिन प्रभावित हुने बताइएको छ।
सरकारका अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी वितरण सुरु गरिनेछ। नयाँ प्रणाली लागू भएपछि पहिलो तीन महिनालाई ‘स्थिरीकरण अवधि’का रूपमा राखिएको छ। यस अवधिमा सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न प्राविधिक टोली चौबीसै घण्टा तयारी अवस्थामा रहने मन्त्री खनालले बताए।
राहदानी छपाइसँग सम्बन्धित मुद्दा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि विशेष अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा टिप्पणी गर्न नमिल्ने मन्त्री खनालले स्पष्ट पारे। उनले सरकार र सम्बन्धित कम्पनीबीच भएको करार सम्झौताअनुसार नै नयाँ प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको बताए।
मन्त्री खनालले अत्यावश्यक राहदानी आवश्यक पर्ने नागरिकलाई सकेसम्म तत्काल आवेदन दिन वा सेवा नियमित नहुन्जेल अर्को सातासम्म धैर्य गर्न आग्रह गरेका छन्।