काठमाडौं । नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेस अब आफ्नै आन्तरिक निर्वाचनलाई नयाँ प्रविधिसँग जोड्ने तयारीमा देखिएको छ। आगामी १५औँ केन्द्रीय महाधिवेशन लाई स्वच्छ, पारदर्शी, छिटो र व्यवस्थित बनाउने उद्देश्यसहित कांग्रेसले निर्वाचन प्रक्रियामा ठूलो परिवर्तनको संकेत दिएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यसपटकको महाधिवेशन पेपरलेस प्रणाली र इलेक्ट्रोनिक भोटिङ मेसिन ९ईभीएम० मार्फत सञ्चालन गर्ने तयारी अघि बढाउने निर्णय गरेको छ। यदि यो योजना सफल भयो भने कांग्रेसको इतिहासमै पहिलो पटक नेतृत्व चयन डिजिटल प्रविधिको प्रयोगबाट हुने बाटो खुल्नेछ।
वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले विगतका निर्वाचन समितिका पदाधिकारी, निर्वाचन अधिकृत तथा सरोकारवालासँग अनुभव, सुझाव र राय संकलन गर्दै महाधिवेशनलाई तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्यसहित विभिन्न निर्णय गरेको हो। निर्णयअनुसार निर्वाचन प्रक्रिया सुरु भएपछि निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रूपमा लागू हुनेछ। विधानले अन्यथा व्यवस्था नगरेसम्म केन्द्रीय कार्यसमितिदेखि सबै तहका नेता, कार्यकर्ता र निकायले उक्त आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ।
निर्वाचन व्यवस्थापनलाई अझ समावेशी बनाउने उद्देश्यले काठमाडौं, भक्तपुर र ललितपुर का निर्वाचन अधिकृत नियुक्त गर्दा महिला कानुन व्यवसायीलाई प्राथमिकता दिने निर्णय पनि गरिएको छ। यसले निर्वाचन प्रक्रियामा महिलाको नेतृत्व र सहभागिता थप मजबुत हुने अपेक्षा गरिएको छ।
यस्तै, निर्वाचनलाई व्यवस्थित बनाउन कानुन व्यवसायी तथा अन्य पेशागत समूहबाट स्वयंसेवकको रोस्टर तयार गरिने, उनीहरूलाई आवश्यक अभिमुखीकरण प्रदान गरी आवश्यकता अनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गरिने तयारी पनि कांग्रेसले गरेको छ। यी सबै निर्णय अब जानकारीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिसमक्ष पेश गरिनेछ।
कांग्रेसको यो निर्णय केवल प्रविधि प्रयोग गर्ने विषय मात्र होइन, आन्तरिक लोकतन्त्रलाई थप पारदर्शी, विश्वसनीय र आधुनिक बनाउने प्रयासका रूपमा पनि हेरिएको छ। तर ईभीएम र पेपरलेस प्रणाली व्यवहारमा कति प्रभावकारी हुन्छ, त्यसको परीक्षण भने आगामी महाधिवेशनमै हुनेछ।