काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच इरान र संयुक्त राज्य अमेरिकाबीच कतारको राजधानी दोहामा बुधबार प्राविधिक तहको वार्ता जारी रहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार दुवै देशबीच प्रत्यक्ष वार्ता नभई मध्यस्थकर्तामार्फत ‘टेक्निकल डायलग’ सञ्चालन भइरहेको हो।
रिपोर्टअनुसार वार्तामा कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन्। पछिल्ला दिनमा क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएपछि सुरु गरिएको यो संवादलाई तनाव न्यूनीकरण र कूटनीतिक सम्बन्ध सुधारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
वार्ताको पूर्वतयारीका लागि मंगलबार अमेरिकी विशेष दूत स्टीभ बिटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जरेड कुसनर दोहा पुगेका थिए। उनीहरूले कतारका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। यद्यपि बुधबार जारी प्राविधिक वार्तामा उनीहरूको प्रत्यक्ष सहभागिता नरहेको जनाइएको छ।
विशेषगरी स्ट्रेट अफ होर्मुज क्षेत्रमा देखिएको पछिल्लो सैन्य तनावपछि यो वार्ता अन्तर्राष्ट्रिय समुदायको चासोको केन्द्र बनेको छ। विश्व ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने होर्मुज क्षेत्रमा बढ्दो तनावले क्षेत्रीय स्थायित्व र विश्व बजारमा समेत असर पार्ने चिन्ता व्यक्त हुँदै आएको छ।
यसअघि जुन १७ मा इरान र अमेरिकाबीच १४ बुँदे समझदारी (एमओयू) भएको थियो। त्यसको निरन्तरतास्वरूप जुन २१ मा स्विट्जरल्यान्डमा पहिलो चरणको शान्ति वार्ता सम्पन्न भएको थियो। तर त्यसयता होर्मुज क्षेत्रमा देखिएको सैन्य गतिविधि र दुवै पक्षबीच युद्धविराम उल्लंघनको आरोप-प्रत्यारोपले सम्बन्ध पुनः तनावपूर्ण बनेको छ।
यही पृष्ठभूमिमा दोहामा जारी वार्तालाई संवादको वातावरण पुनःस्थापित गर्दै क्षेत्रीय तनाव कम गर्ने महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ। वार्ताबाट ठोस सहमति निस्कने वा तनाव थप कम हुने विषयमा भने दुवै पक्षले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।