काठमाडौं । कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भन्दै विद्यार्थीहरूले आन्दोलन चर्काइरहेका बेला शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले उत्तरपुस्तिका, परीक्षाङ्क तथा डेटा इन्ट्रीको छानबिन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्।
बिहीबार काठमाडौंमा विद्यार्थीहरूले परीक्षाफलप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेपछि मन्त्री पोखरेलले मन्त्रालयको तर्फबाट धारणा सार्वजनिक गर्दै छानबिन समिति गठन गरिएको बताएका हुन्। उनका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गरिनेछ।
यद्यपि उनले कक्षा १२ को परीक्षाफलमा कुनै कैफियत वा त्रुटि नभएको दाबी गरेका छन्। नतिजा हतारमा सार्वजनिक गरिएको भन्ने आरोप अस्वीकार गर्दै उनले आवश्यक जनशक्ति थप गरिएको र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर समयमै नतिजा प्रकाशित गरिएको स्पष्ट पारे।
मन्त्री पोखरेलले लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्ने उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनप्रति सम्मान व्यक्त गरेका छन्। साथै, आन्दोलनरत विद्यार्थीहरूमाथि सामाजिक सञ्जालमा हुने गालीगलौज, दुर्व्यवहार तथा असम्मानजनक टिप्पणी नगर्न पनि सबैलाई आग्रह गरेका छन्।
कक्षा १२ को नतिजा सार्वजनिक भएपछि देशभरका धेरै विद्यार्थीले प्राप्ताङ्क र नतिजाप्रति असन्तुष्टि जनाउँदै पुनः परीक्षण तथा छानबिनको माग गरिरहेका छन्। विद्यार्थीहरूको दबाब बढ्दै गएपछि सरकारले छानबिन समिति गठन गरेको हो। अब समितिको अध्ययन र भेरिफिकेसन प्रतिवेदनले परीक्षाफल सम्बन्धी विवादमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।