काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म गौँथलीको टिजर र गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। सार्वजनिक सामग्रीलाई दर्शकहरूले ‘भावुक’, ‘यथार्थपरक’ र ‘समाजको वास्तविकता बोल्ने’ भन्दै प्रशंसा गरेका छन्।
गीतकार तथा लेखक डा. भोला रिजालको कथामा आधारित फिल्मलाई उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन्। दुई दशकअघि निर्माण भएको ‘गौँथली’को अवधारणालाई नयाँ ढंगले प्रस्तुत गरिएको फिल्मले पढ्न चाहने युवतीको विवाहपछिको संघर्ष र पारिवारिक अत्याचारको कथा उठाएको छ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा सार्वजनिक गरिएको टिजर र गीतलाई दर्शकले रुचाएका छन्। विशेषगरी टिजरमा समेटिएका संवाद, सामाजिक सन्देश र कलाकारहरूको अभिनयलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। धेरै दर्शकले यस्तो महत्त्वपूर्ण विषयवस्तुमा फिल्म निर्माण गरिएकोमा निर्माण टोलीलाई धन्यवादसमेत दिएका छन्।
टिजर र गीतले राम्रो प्रतिक्रिया पाएपछि निर्देशक कपिल रिजालले खुसी व्यक्त गरेका छन्। उनका अनुसार दर्शकले फिल्मको विषयवस्तु, प्रस्तुति र अभिनयलाई विशेष रूपमा मन पराएका छन्। शारीरिक तथा मानसिक अवस्थाले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई दर्शकले आत्मसात् गरेको उनको भनाइ छ।
फिल्मका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का प्रति दर्शकको चासो पनि बढेको देखिएको छ। फिल्ममा अरुण क्षेत्री अटिजम भएका युवकको भूमिकामा देखिएका छन्, जुन उनको अघिल्ला रोमान्टिक भूमिकाभन्दा फरक रहेको बताइएको छ। सिम्रन खड्काको अभिनयले पनि दर्शकको ध्यान आकर्षित गरेको प्रतिक्रिया युट्युबमा देख्न सकिन्छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मका निर्माता सुमन गिरी र डा। कपिल रिजाल हुन्। सामाजिक यथार्थ, पारिवारिक सम्बन्ध र संघर्षको कथा बोकेको ‘गौँथली’ प्रदर्शनअघि नै चर्चा बटुल्न सफल भएको छ भने टिजर र गीतको सकारात्मक प्रतिक्रियाले फिल्मप्रति दर्शकको अपेक्षा थप बढाएको देखिन्छ।