काठमाडौं । नेपालमा बर्ड फ्लुको संक्रमण फेरि चिन्ताजनक रूपमा फैलिएको छ। पशु सेवा विभागका अनुसार चैत महिनादेखि सुरु भएको संक्रमण हालसम्म ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको छ। पछिल्लो अवस्थाले विशेषगरी काठमाडौं उपत्यकालाई नयाँ ‘हटस्पट’ का रूपमा चिनाएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार मोरङबाट सुरु भएको बर्ड फ्लु अहिले झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेसम्म फैलिएको छ। संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी नष्ट गरिएको छ भने करिब १० लाख अन्डा र झण्डै २ लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ।
कोशी प्रदेशमा संक्रमण नियन्त्रणका लागि एक महिनासम्म पन्छीको ओसारपसारमा रोक लगाइएको थियो। कडा निगरानी, गस्ती परिचालन तथा अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छी नष्ट गरिएपछि त्यहाँको अवस्था अहिले सुधारोन्मुख रहेको विभागको दाबी छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रेका केही क्षेत्रमा भने अझै प्रकोप देखिएकाले सतर्कता बढाइएको छ।
महानिर्देशक दाहालका अनुसार पछिल्ला दिनमा परीक्षण गरिएका अधिकांश नमुना नकारात्मक देखिन थालेका छन् र केही नमुनामा मात्रै एच-फाइभ भाइरस पुष्टि भएको छ। यसले संक्रमण विस्तारै नियन्त्रणतर्फ उन्मुख रहेको संकेत गरेको उनले बताए।
नेपालमा बर्ड फ्लुको पहिलो संक्रमण २०६५/६६ सालमा झापामा देखिएको थियो। त्यसपछि २०७० सालमा काठमाडौं उपत्यकामा ठूलो प्रकोप फैलिएको थियो, जहाँ भक्तपुर जिल्लालाई नै संकटग्रस्त क्षेत्र घोषणा गर्नुपरेको थियो। लामो अन्तरालपछि फेरि उपत्यकामा संक्रमण तीव्र बनेपछि किसान, व्यवसायी र उपभोक्तामा चिन्ता बढेको छ।
सरोकारवाला निकायले कुखुरापालन व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन, शंकास्पद पन्छी देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।