काठमाडौं । सुनसरीको बर्जु गाउँपालिकामा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको ज्यान गएको छ। मंगलबार दिउँसो हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका-६ स्थित नरह चोकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् भने दुर्घटनामा संलग्न कार चालक रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आइरहेको प्रदेश १-०१-००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका-१ निवासी करिब ५० वर्षीय लालकुमार यादव गम्भीर घाइते भएका थिए। टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। तर उपचारकै क्रममा दिउँसो ४ बजेर १६ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी ४७ वर्षीया रामपरी यादव घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। हाल उनको विराट नर्सिङ होममै उपचार भइरहेको छ र अवस्था सामान्य रहेको बताइएको छ।मृतक यादव यसअघि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए। हालै मात्र सईबाट वरिष्ठ सईमा बढुवा भएका उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय सिराहामा कायम भएको थियो। असार ६ गते रमाना लिएर बाराबाट हिँडेका उनी सिराहामा हाजिर हुन जाने क्रममा दुर्घटनामा परेका हुन्।
दुर्घटनामा संलग्न कार चालक मोरङको कटहरी गाउँपालिका-३ निवासी करिब ५० वर्षीय डा. राजेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ। उनी नेपाल मेडिकल एशोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन्। प्रारम्भिक अनुसन्धानअनुसार एक्स-रे सेवा दिन चिमडी बजारतर्फ जाने क्रममा उनले आफैं चलाएको ईभी कार दुर्घटनामा परेको देखिएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाका बेला कार तीव्र गतिमा गुडिरहेको थियो। कारको ठक्कर लगत्तै मोटरसाइकलमा आगलागी समेत भएको थियो। स्थानीयवासीको सक्रियतामा आगो तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ठक्करपछि कार समेत उछिट्टिएर विपरीत लेनमा पुगेको थियो। दुर्घटनामा कारको अगाडिको भागमा क्षति पुगेको भए पनि चालक डा। चौधरी भने सकुशल रहेका छन्।
इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापाको नेतृत्वमा रहेको टोलीले दुर्घटनाको कारण, सवारीको गति तथा अन्य प्राविधिक पक्षबारे थप अनुसन्धान गरिरहेको छ।