काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रमा अर्को बहुप्रतीक्षित बायोपिक फिल्म निर्माण हुने भएको छ। हास्यव्यंग्यका सम्राट तथा नेपाली कला क्षेत्रका चर्चित व्यक्तित्व मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित फिल्म ‘मदनकृष्ण’ निर्माणको औपचारिक घोषणा गरिएको छ।
गत वर्ष सुपरहिट बायोपिक फिल्म ‘अञ्जिला’ निर्माण गरेका निर्देशक मिलन चाम्सले यो महत्वाकांक्षी परियोजना निर्देशन गर्न लागेका हुन्। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा फिल्मको घोषणा गर्दै निर्माण टिमले कलाकार र कथावस्तुबारे जानकारी सार्वजनिक गरेको हो।
फिल्ममा मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका अभिनेता महेश त्रिपाठीले निभाउने भएका छन्। त्यस्तै अभिनेत्री केकी अधिकारीले मदनकृष्णकी जीवनसाथी यशोधा श्रेष्ठको भूमिका निर्वाह गर्नेछिन्। यसअघि पनि महेश र केकीले ‘झिँगेदाउ २’ मा श्रीमान्-श्रीमतीको भूमिकामा अभिनय गरिसकेका छन्। फिल्मले मदनकृष्णको कलाकारिता यात्रा, संघर्ष, जागिरे जीवन, पत्नी वियोगको पीडा तथा हरिवंश आचार्यसँगको ऐतिहासिक मित्रता र सहकार्यलाई केन्द्रमा राख्ने जनाइएको छ। विशेष कुरा के छ भने फिल्मका केही दृश्यमा स्वयं मदनकृष्ण श्रेष्ठ पनि देखिनेछन्।
फिल्ममा हरिवंश आचार्य, किरण केसी, देशभक्त खनाल, राजाराम पौडेल, यमन श्रेष्ठ र रुषा न्यौपानेलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। यम थापाले लेखेको फिल्मको छायांकन कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेदेखि सुरु हुने तयारी गरिएको छ। ‘मदनकृष्ण’ निर्देशक मिलन चाम्सको चौथो बायोपिक फिल्म हुनेछ। यसअघि उनले ‘बोबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ निर्देशन गरिसकेका छन्। विशेषगरी ‘अञ्जिला’ले नेपाली फिल्म उद्योगमा बायोपिक विधालाई नयाँ उचाइमा पुर्याएको थियो।
अब दर्शकहरू नेपाली हास्यव्यंग्यको इतिहासमा अमिट छाप छोडेका मदनकृष्ण श्रेष्ठको जीवन, संघर्ष र सफलताको कथा ठूलो पर्दामा हेर्न उत्साहित बनेका छन्।