काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। भरतपुरस्थित गेष्टहाउस चौरमा निर्माण गरिएको विशेष सभाहलमा आयोजित उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
उद्घाटनको क्रममा मञ्चमा उपस्थित अन्य विशिष्ट अतिथिहरूले पनि एकैसाथ घण्टी बजाएका थिए। घण्टीको ध्वनिसँगै रास्वपाको पहिलो महाधिवेशन औपचारिक रूपमा प्रारम्भ भएको घोषणा गरिएको थियो। कार्यक्रममा सहभागी कार्यकर्ताहरूले उत्साहपूर्ण रूपमा स्वागत गरेका थिए।
महाधिवेशन उद्घाटन समारोहलाई विशेष बनाउन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको थियो। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन सत्रमा सहभागी भएका थिए।
यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। विभिन्न राजनीतिक धारका नेताहरू एउटै मञ्चमा देखिनु महाधिवेशनको अर्को विशेष पक्ष बनेको छ।
उद्घाटन सत्र सुरु हुने क्रममा वर्षा भए पनि सहभागीहरूको उत्साहमा कुनै कमी देखिएन। पानीका बीच पनि ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरू कार्यक्रमस्थलमा उपस्थित रहे। रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी दिशा, संगठन विस्तार र नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।