काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ। सातै प्रदेश, प्रवास, मनोनयन र समायोजन प्रक्रियामार्फत प्रतिनिधिहरू चयन गरिएको पार्टीले जनाएको छ।
पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि चयन भएका छन्। यस्तै, पार्टी सभापतिबाट विधानअनुसार १३८ जना मनोनित गरिएका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेका सदस्यहरूमध्ये १९२ जनालाई प्रतिनिधिको जिम्मेवारी दिइएको छ। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशबाट सबैभन्दा धेरै ७९४ जना प्रतिनिधि सहभागी हुनेछन्। त्यसपछि मधेस प्रदेशबाट ६३०, लुम्बिनीबाट ६२१, सुदूरपश्चिमबाट ५०५, गण्डकीबाट ४५४, कोशीबाट ३६४ र कर्णालीबाट ३४३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भएका छन्।
महाधिवेशन प्रतिनिधिको संरचनामा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित विभिन्न तहका पदाधिकारीलाई समेटिएको छ। प्रदेश समितिका सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग तथा सल्लाहकार परिषद्का पदाधिकारीहरू पनि प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। त्यसैगरी, संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रका ३८ विभागबाट ११-११ जनाका दरले सदस्य, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका प्रतिनिधिहरूलाई पनि महाधिवेशनमा सहभागी गराइएको छ।
स्थानीय तहबाट पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन भएका छन्। साथै प्रदेश र जिल्ला सम्पर्क विभागबाट समेत प्रतिनिधि समावेश गरिएको छ। रास्वपाले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका, समानुपातिक सूचीमा रहेका तथा पार्टीमा सक्रिय भूमिका निर्वाह गरिरहेका व्यक्तिहरूलाई समेत महाधिवेशन प्रतिनिधिमा समेटेको जनाएको छ।
पहिलो राष्ट्रिय महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन र आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अवसरका रूपमा हेरिएको छ।