काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठन भएको एक सय दिन पूरा हुन लाग्दा सरकारको कार्यसम्पादनको औपचारिक समीक्षा गर्ने भएको छ। कांग्रेस संसदीय दल कार्यसमितिको शनिबार बसेको बैठकले सरकारका प्रतिबद्धता, उपलब्धि र कार्यान्वयनको अवस्थाबारे मूल्याङ्कन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो।
सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले संसदीय दल र पार्टीबीचको समन्वयलाई थप प्रभावकारी बनाउने तथा संसद्मा प्रतिपक्षको भूमिकालाई अझ सशक्त ढंगले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले सरकार गठनका क्रममा गरिएका प्रतिबद्धता र ती कार्यान्वयनको वास्तविक अवस्थाबारे कांग्रेसले विस्तृत समीक्षा गर्ने बताए। उनले सरकारको सय दिनको कार्यकालबारे संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिए।
महामन्त्री पौडेलका अनुसार राष्ट्रिय महत्वका विषय, जनजीविकाका सवाल तथा सरकारका कमीकमजोरीबारे संसद्मा अझ प्रभावकारी ढंगले आवाज उठाउन सांसदहरूलाई सहजीकरण गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो।
प्रतिपक्षी भूमिकालाई लिएर उठ्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै पौडेलले कांग्रेसले सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गरिरहेको दाबी गरे। उनले सरकारका कमजोरी र गलत निर्णयविरुद्ध कांग्रेस सांसदहरूले संसद्मा निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै प्रतिपक्षको सुझाव र आवाजलाई बेवास्ता गरे त्यसको मूल्याङ्कन जनताले गर्ने बताए।
बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, सदस्यता वितरण तथा नवीकरणलगायत विषयमा पनि छलफल भएको थियो। पौडेलले नेपाली कांग्रेसजस्तो लामो इतिहास बोकेको पार्टीमा व्यक्ति व्यवस्थापनको चुनौती नयाँ विषय नभएको उल्लेख गर्दै पार्टीभित्र कुनै नीतिगत विवाद नरहेको स्पष्ट पारे।