काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई लिएर चितवनमा व्यापक तयारी भइरहेको छ। असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि, नेता, कार्यकर्ता र शुभेच्छुक गरी करिब ७ हजार जना सहभागी हुने अनुमान गरिएको छ।
महाधिवेशन नजिकिँदै जाँदा चितवन पुग्ने सहभागीहरूको संख्या बढिरहेको छ। रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन र भावी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
यता, चितवनमा बढ्दो गर्मी आयोजकका लागि चुनौती बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भरतपुरको तापक्रम ३४ डिग्री सेल्सियससम्म पुगेको छ भने महाधिवेशन अवधिभर ३५ देखि ३६ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। यही कारण आयोजकले सहभागीहरूलाई प्रशस्त पानी पिउन, छाता प्रयोग गर्न र हल्का कपडा लगाउन आग्रह गरेको छ।
महाधिवेशन व्यवस्थापनका लागि रास्वपाले १८ वटा उपसमिति गठन गरेको छ। महामन्त्री भूपदेव शाहका अनुसार सबै उपसमितिले व्यवस्थापनलाई अन्तिम रूप दिन संयुक्त रूपमा काम गरिरहेका छन्। गर्मीबाट हुन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै डा। तोसीमा कार्की नेतृत्वको स्वास्थ्य सेवा उपसमितिले विशेष तयारी थालेको छ। महाधिवेशन स्थलमा हेल्थ डेस्क, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा आवश्यक औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिने जनाइएको छ।
महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। आवास तथा भोजन व्यवस्थापन समितिका अनुसार अधिकांश प्रतिनिधि र पर्यवेक्षकले होटल बुकिङ गरिसकेका छन्। महाधिवेशनका कारण चितवनका तीन हजारभन्दा बढी होटल कोठा भरिने अनुमान गरिएको छ। सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै होटल व्यवसायी सङ्घ चितवन र क्षेत्रीय होटल सङ्घ चितवनले आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छन्।
रास्वपाले महाधिवेशनको उद्घाटन भरतपुरस्थित गेष्टहाउस चौरमा गर्ने तयारी गरेको छ भने बन्दसत्र नेपाल उद्योग संघको प्रदर्शनी हलमा सञ्चालन हुने जनाएको छ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन भएकाले यसलाई रास्वपाको संगठनात्मक क्षमता र राजनीतिक प्रभाव परीक्षणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।