काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्रलाई केवल मनोरञ्जनको माध्यममा सीमित नराखी सामाजिक जागरण, राष्ट्रिय एकता र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने सशक्त माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
शुक्रबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले चलचित्रले नागरिकमा चेतना जगाउने, समाजलाई सकारात्मक दिशामा रूपान्तरण गर्ने तथा राष्ट्रप्रेमको भावना अभिवृद्धि गर्ने महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे। उनले नेपालको मौलिक भाषा, संस्कृति, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा चलचित्र क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताए।
राष्ट्रपति पौडेलका अनुसार नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक सौन्दर्यसँगै यहाँको सामाजिक जीवन, रहनसहन र सांस्कृतिक विविधतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रभावकारी माध्यम चलचित्र हुन सक्छ। उनले बदलिँदो समय र प्रविधिसँगै चलचित्र क्षेत्रलाई प्रतिस्पर्धी बनाउन नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकारले यस उद्योगलाई आवश्यक सुविधा र सहुलियत प्रदान गर्नुपर्नेमा जोड दिए।
नेपाली चलचित्र उद्योगले अर्थतन्त्रमा समेत योगदान पुर्याइरहेको उल्लेख गर्दै उनले कलाकार, निर्देशक तथा प्राविधिकहरूले आफ्नो भविष्य सुरक्षित र सम्मानित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
चलचित्रले हरेक नेपालीको कथा, भावना र पहिचानलाई समेट्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रविधिको विकाससँगै निर्माण र वितरण प्रक्रिया सहज बने पनि मौलिक कथा, सांस्कृतिक पहिचान तथा सर्जकको बौद्धिक सम्पत्तिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए।
उनले गाउँघर, बस्ती र दूरदराजका समुदायका वास्तविक कथा तथा अनुभवलाई सशक्त रूपमा पर्दामा उतार्न सके नेपाली चलचित्रले अन्तर्राष्ट्रिय महोत्सव र विश्व बजारमा विशिष्ट पहिचान स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे। यसका लागि चलचित्रकर्मीहरूलाई अध्ययन, अनुसन्धान र सिर्जनात्मक कार्यमा थप केन्द्रित हुन उनले सुझाव दिए।
राष्ट्रपति पौडेलले चलचित्रमा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोलका समुदायहरूको सम्मानजनक, समावेशी र यथार्थपरक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा पनि विशेष जोड दिएका छन्।