काठमाडौं । आर्थिक विधेयकमार्फत करका दर हेरफेर गरिएको तथा बजेट सार्वजनिक हुनुअघि नै त्यससम्बन्धी सूचना चुहाइएको आरोपबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनको माग राष्ट्रिय सभामा समेत उठेको छ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजेट निर्माण प्रक्रिया र कर निर्धारणमा गम्भीर चलखेल भएको आशंका व्यक्त गर्दै अर्थमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न माग गरेका हुन्।
सांसद अधिकारीले संसद्मा टेबुल भइसकेको विधेयकमा संशोधन वा हेरफेर गर्ने अधिकार संसद्लाई मात्र रहेको संवैधानिक व्यवस्था स्मरण गराउँदै अर्थ मन्त्रालयले स्पष्टीकरणु र भाषिक त्रुटि सच्याउनेु बहानामा संसद्लाई छलेर करका दर परिवर्तन गर्न खोजेको आरोप लगाए।
उनले संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप भएको दाबी गर्दै अर्थ मन्त्रालयले पठाएको पाँच बुँदे पत्र र त्यसपछाडिको नियतमाथि प्रश्न उठाए। उनका अनुसार बजेट भाषण हुनुअघि ठूलो परिमाणमा विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिनु र त्यसलगत्तै अर्थ विधेयकमा करका दर हेरफेर हुनु गम्भीर शंकाको विषय बनेको छ।
संसद्मा उनले भने,अर्थ मन्त्रालयले अस्पष्टता र भाषिक त्रुटि सच्याउने भन्दै पठाएको पत्रमार्फत करका दरमै हेरफेर गरिएको देखिन्छ। विधेयकमाथि विचार गरियोस् भनेर रुलिङ समेत नभइसकेको अवस्थामा यस्तो हतारो किन गरियो भन्ने प्रश्न उठेको छ। यस विषयमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ।
व्यापारीहरूसँगको मिलेमतोमा बजेटअघि नै सूचना चुहाएर आर्थिक लाभ लिने उद्देश्यले ईभी गाडी भित्र्याइएको हुनसक्ने आशंका व्यक्त गर्दै सांसद अधिकारीले यस विषयलाई सामान्य रूपमा लिन नहुने बताए।
विधेयकमाथि संसद्मा औपचारिक छलफलको प्रक्रिया नै सुरु नभएको अवस्थामा करका दर परिवर्तन गर्न अर्थ मन्त्रालयले देखाएको सक्रियताले आर्थिक सुशासन र संसदीय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो। उनले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र उच्चस्तरीय अनुसन्धान अपरिहार्य रहेको धारणा व्यक्त गरे।