काठमाडौं । अभिनेता जितु नेपाल नेपाली फिल्म उद्योगका चर्चित हास्य कलाकारमध्ये एक हुन्। तर पछिल्ला केही वर्षको उनको बक्स अफिस यात्रा हेर्दा एउटा रोचक संयोग देखिन्छ-दीपकराज गिरी र दीपाश्री निरौलाको समूहमा रहँदा उनले लगातार हिट फिल्म दिए, तर समूहबाट अलग भएपछि सफलता भने टाढिँदै गएको छ।
करिब पाँच-छ वर्षसम्म ‘छक्का पञ्जा’ समूहसँग आबद्ध रहेका जितुले ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म अभिनय गरेका सबैजसो फिल्मले व्यावसायिक सफलता हासिल गरेका थिए। तीमध्ये केही फिल्मबाट उनले सेयरबापत झन्डै एक करोड रुपैयाँसम्म आम्दानी गरेको चर्चा पनि चल्यो। तर, ‘छ माया छपक्कै’पछि उत्पन्न भएको एक घटनाले उनलाई दीपक-दीपाको टोलीबाट अलग गरायो। त्यसपछि भने उनको फिल्मी यात्राले नयाँ मोड लियो। सहायक भूमिकामा सीमित रहेका जितुले मुख्य पात्रका रूपमा अवसर पाउन थाले। तर, मुख्य भूमिकाको जिम्मेवारीसँगै सफलता भने हात पार्न सकेनन्।
समूहबाट बाहिरिएपछि उनले अभिनय गरेको पहिलो फिल्म ‘ह्यारी कि प्यारी’ बक्स अफिसमा नराम्रोसँग असफल भयो। त्यसपछि आएको ‘ज्वाइँ साब’ले पनि अपेक्षित व्यापार गर्न सकेन। गत वर्ष प्रदर्शनमा आएको ‘कार्साङ’ पनि फ्लप भएपछि जितुले लगातार तीन असफल फिल्मको सामना गर्नुपर्यो।
अब भने जितु आफ्नै निर्माणमा बनेको फिल्म ‘आइएम जितबहादुर’ मार्फत पुनः दर्शकको विश्वास जित्ने प्रयासमा छन्। अर्को साता प्रदर्शनमा आउन लागेको यो फिल्म उनको करिअरका लागि निर्णायक बन्न सक्ने विश्लेषण भइरहेको छ। अभिनेता मात्र नभई निर्माता समेत रहेका कारण यो फिल्मको सफलताले उनको आत्मविश्वास र भविष्यको यात्रामा ठूलो प्रभाव पार्नेछ।
रोचक कुरा के छ भने, ‘आइएम जितबहादुर’मा जितुसँगै अभिनय गरेका प्रियंका कार्की र वर्षा राउत पनि पछिल्लो समय बक्स अफिस संघर्षबाट गुज्रिरहेका छन्। प्रियंकाले विगत आठ वर्षदेखि कुनै व्यावसायिक हिट फिल्म दिन सकेकी छैनन् भने वर्षाका ‘महाजात्रा’पछि प्रदर्शनमा आएका लगातार तीन फिल्म असफल भइसकेका छन्।
यही कारण ‘आइएम जितबहादुर’ केवल एउटा नयाँ फिल्म मात्र होइन, जितु नेपालसहित प्रियंका कार्की र वर्षा राउत तीनै कलाकारको करिअर पुनर्जीवनको अवसर र भाग्य परीक्षाका रूपमा हेरिएको छ। अब हेर्न बाँकी छ-के जितुले ‘फ्लप हिरो’को ट्याग पखाल्दै फेरि दर्शकको मन जित्न सफल होलान्रु