काठमाडौं । अन्तर्राष्ट्रिय फिल्म मञ्चमा नेपाली सिनेमाले हासिल गरेको ऐतिहासिक सफलताको कदर गर्दै चलचित्र विकास बोर्डले चर्चित नेपाली फिल्म ‘इलिफेन्ट्स इन द फग’ को निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ।
चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) मा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले सम्मान-पत्र, खादा र मालासहित फिल्म टोलीलाई सम्मान प्रदान गरेका हुन्।
नेपाली फिल्मले विश्व मञ्चमा नेपालको पहिचान, संस्कृति र सिर्जनशीलतालाई स्थापित गर्न पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान कार्यक्रम आयोजना गरिएको चलचित्र विकास बोर्डले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले ‘इलिफेन्ट्स इन द फग’ ले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने महत्त्वपूर्ण काम गरेको बताए। उनले पछिल्ला वर्षहरूमा नेपाली फिल्मले उल्लेखनीय फड्को मार्दै देशको प्रतिष्ठा उँचो बनाएको उल्लेख गरे।
"धेरैको सपना रहने अन्तर्राष्ट्रिय मञ्चमा यो फिल्मले नेपाललाई चिनाएको छ। यस सफलताले समग्र नेपाली चलचित्र क्षेत्रलाई थप प्रेरणा दिएको छ", मन्त्री पौडेलले भने। सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले फिल्म टोलीको उपलब्धि केवल एउटा पुरस्कार नभई राष्ट्रकै गौरवको विषय भएको बताए। "यहाँहरूले प्राप्त गर्नुभएको सफलताको मूल्य दुई लाख ५० हजार वा दुई करोड ५० लाख रुपैयाँले पनि मापन गर्न सकिँदैन। यो देशकै लागि गौरवको विषय हो", उनले भने।
फिल्म क्षेत्रको विकासका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गुणस्तरीय तथा देशको आवाज बोल्ने चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ‘इलिफेन्ट्स इन द फग’ को सफलताले नेपाली फिल्म उद्योगलाई विश्व बजारमा आत्मविश्वासका साथ अघि बढ्ने प्रेरणा दिएको बताए। उनले ५६ वर्षदेखि समयानुकूल परिमार्जन हुन नसकेको चलचित्रसम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै सरकारले फिल्म क्षेत्रको दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेको बताए।
"अब नेपाल हिमालको देश मात्र होइन, ‘इलिफेन्ट्स इन द फग’ को देशका रूपमा समेत चिनिने अवस्था बनेको छ", अध्यक्ष डीसीले भने। सम्मान ग्रहण गर्दै फिल्मका निर्देशक अविनाश विक्रम शाहले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपाली चलचित्रकर्मीको साझा सफलता भएको प्रतिक्रिया दिए। "फिल्म मनोरञ्जनको माध्यम मात्र होइन, हाम्रो संस्कृति, पहिचान र कथा संसारसामु पुर्याउने सशक्त माध्यम पनि हो", उनले भने। निर्देशक शाहसँगै निर्माता अनुप पौडेल र प्रचण्डमान श्रेष्ठ, कलाकार पुष्पा थिङ लामा तथा अन्य कलाकार र प्राविधिक टोली सम्मान कार्यक्रममा सहभागी थिए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले फिल्मको अन्तर्राष्ट्रिय सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। प्राकृतिक सौन्दर्य, संस्कृति र विविधताले भरिपूर्ण नेपाल चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै उनले सिनेमालाई पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा पनि उपयोग गर्न आग्रह गरे।
उल्लेखनीय रूपमा, ‘इलिफेन्ट्स इन द फग’ ले सन् २०२६ को कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित ‘अन सर्तेन रिगार्ड’ विधामा जुरी पुरस्कार तथा उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार जित्दै नेपाली सिनेमाको इतिहासमा नयाँ अध्याय थपेको थियो। चलचित्र विकास बोर्डले प्रदान गरेको सम्मानले नेपाली चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।