काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा व्यक्त गरेको नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमापार उपयोग-उपभोगको सन्दर्भसँग जोडिएको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले नेपाल-भारत सीमाका विभिन्न क्षेत्रमा यस्ता समस्या र विवादहरू विद्यमान रहेको बताए। उनले सीमा क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न दुवै देशका संयुक्त प्राविधिक संयन्त्रमार्फत नक्साङ्कन तथा अध्ययन कार्य भइरहेको जानकारी दिए।
उनका अनुसार अध्ययनको विस्तृत प्रतिवेदन तयार भएपछि त्यसबारे थप तथ्य सार्वजनिक गरिनेछ। प्राविधिक अध्ययनका क्रममा केही स्थानमा हाल नेपालको उपयोगमा रहेका भूभाग भारततर्फ पर्न सक्ने तथा भारतले उपयोग गरिरहेका केही भूभाग नेपालतर्फ पर्न सक्ने संकेत देखिएको उनले बताए।
मन्त्री खनालले सीमा क्षेत्रमा दुवै पक्षले आ-आफ्नो उपयोग र उपभोगमा रहेको भूभागमाथि दाबी गर्ने अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति पनि यही प्राविधिक यथार्थसँग सम्बन्धित रहेको स्पष्ट पारे। उनले संसद्मा भने, “नेपाल-भारत सीमाका विभिन्न क्षेत्रमा क्रस बोर्डर अकुपेसनका विषयहरू छन्। कतिपय स्थानमा दुवै देशले आफ्नो उपयोगमा रहेको भूभागमाथि दाबी गर्दै आएका छन्। प्रधानमन्त्रीज्यूको भनाइ पनि यही प्राविधिक यथार्थ र अध्ययन प्रक्रियासँग जोडिएको हो।”
परराष्ट्रमन्त्री खनालले सीमा विवादको मुख्य प्रश्न स्थायी समाधान खोज्नु रहेको उल्लेख गर्दै नेपाल-भारत सीमा विषय विशुद्ध द्विपक्षीय मुद्दा भएको बताए। उनले ऐतिहासिक सन्धि-सम्झौता, पुराना नक्सा र प्रमाणका आधारमा समाधानको प्रयास जारी रहने बताए।
नेपाल र भारतबीचको ऐतिहासिक तथा घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै कूटनीतिक संवाद, वार्ता र पारस्परिक समझदारीमार्फत सीमा सम्बन्धी समस्याको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए।