काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सुशासन नै नागरिकको सबैभन्दा ठूलो अपेक्षा भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजित जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवौँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा कार्यक्रममा बोल्दै उहाँले पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व राज्य प्रणालीलाई अझ जिम्मेवार बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
सभामुख अर्यालले लोकतन्त्र केवल निर्वाचनबाट मात्र सुदृढ नहुने उल्लेख गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममुखी सेवा प्रवाह आवश्यक रहेको बताउनुभयो । उहाँले सुशासनसम्बन्धी प्रश्नहरूले राज्य प्रणालीलाई अझ उत्तरदायी र नागरिकमैत्री बनाउन महत्वपूर्ण प्रेरणा दिएको टिप्पणी गर्नुभयो ।
“सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो,” उहाँले भन्नुभयो, “पछिल्लो समयमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वका विषयमा उठेका सवालले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ।”
सभामुख अर्यालले संघीयताको वास्तविक परीक्षण सिंहदरबारमा मात्र नभई स्थानीय तहको सेवा प्रवाहको प्रभावकारितामा निर्भर हुने बताउनुभयो । उहाँका अनुसार संविधानले दिएको जिम्मेवारीलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी स्थानीय तहले काम गर्नुपर्छ, किनभने स्थानीय सरकार नै नागरिकको सबैभन्दा नजिकको सरकार हो । उहाँले कानुन निर्माण मात्र पर्याप्त नहुने भन्दै त्यसको सफल कार्यान्वयन स्थानीय तहमा निर्भर रहने स्पष्ट पार्नुभयो ।
“संविधानले प्रदान गरेको जिम्मेवारी र अवसरलाई नागरिकले प्रत्यक्ष अनुभूति हुने गरी स्थानीय तहले काम गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “संसद्ले निर्माण गर्ने कानुनको अन्तिम सफलता स्थानीय तहको प्रभावकारी कार्यान्वयनमा निर्भर रहन्छ।” सभामुख अर्यालले राज्य संयन्त्र-कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका-सबैको गति सन्तुलित र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै नागरिकले राज्यलाई आफ्नो नजिकको संरचना भएको अनुभूति गर्नुपर्ने बताउनुभयो ।
उहाँले संविधानको अक्षरशः पालना गर्दै आवश्यक परे संशोधन र परिमार्जन गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।“हाम्रो र हुर्कँदै गरेको पुस्ताको आवश्यकतालाई हेरेर संविधान संशोधन गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “त्यसमा सबै राजनीतिक दल, क्षेत्र तथा व्यक्तिको भावना समेटिनुपर्छ।” कार्यक्रमका क्रममा सभामुख अर्यालले प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकबाट निर्वाचित सांसदहरू तथा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने स्थानीय जनप्रतिनिधिलाई सम्मान पनि गर्नुभयो ।
जिल्ला समन्वय प्रमुख दीपक गौतमले सो अवसरमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।