काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। प्रधानमन्त्रीले संसद्मा ‘भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि एमालेले त्यसलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको टिप्पणी गरेको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट संसद्को रोस्ट्रम प्रयोग गरी यस्तो अभिव्यक्ति आउनु अत्यन्त खेदजनक भएको बताएका छन्।
आचार्यका अनुसार ऐतिहासिक दस्तावेज, आधिकारिक नक्सा तथा उपलब्ध तथ्यहरूले नेपालको भूमि अतिक्रमणमा परेको विषयलाई स्पष्ट रूपमा पुष्टि गर्ने अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले जनमानसमा भ्रम सिर्जना गरेको छ। उनले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने जिम्मेवारी बोकेको नेतृत्वबाट नेपाललाई नै दोषी देखाउने अभिव्यक्ति आउनु राष्ट्रिय हितमाथिको गम्भीर आघात भएको बताएका छन्।
एमालेले प्रधानमन्त्रीको उक्त भनाइले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सीमासम्बन्धी अध्ययन–अनुसन्धानमा संलग्न विज्ञहरू तथा आम नेपाली नागरिकको भावनामाथि चोट पुगेको दाबी गरेको छ। राष्ट्रिय स्वाधीनता र सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति अपरिपक्व र भ्रमपूर्ण रहेको एमालेको ठहर छ।
पार्टीले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन तथा सरकारलाई संसद् र आम जनतासमक्ष स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेको छ। साथै, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा कुनै पनि प्रकारको अस्पष्टता वा सम्झौता स्वीकार्य नहुने एमालेले स्पष्ट पारेको छ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा बोल्दै नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा राख्दै ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने आफूले जानकारी पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ।