काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै विस्तृत संगठनात्मक कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीले महाधिवेशन व्यवस्थापन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण काम चरणबद्ध रूपमा सम्पन्न गर्न समयसीमा निर्धारण गरेको जनाएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगमार्फत सार्वजनिक गरिएको कार्ययोजनाअनुसार देशभरका जिल्ला तथा प्रदेश संरचनामा निर्वाचन संयन्त्र गठनदेखि प्रतिनिधि छनोटसम्मका प्रक्रिया तय गरिएको छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ ।
कार्यतालिकाअनुसार ७७ जिल्लासहित सातवटै प्रदेशमा निर्वाचन समिति गठन गर्ने प्रक्रिया जेठ ७ गतेदेखि सुरु भई जेठ १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख गरिएको छ । संगठनात्मक निर्देशन तथा आवश्यक कागजात वितरणको काम भने जेठ १० गतेभित्र पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी स्थानीय तहदेखि जिल्ला तहसम्म सम्पन्न अधिवेशनका प्रतिवेदन संकलन गर्ने कार्य जेठ २० गतेभित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ । जिल्ला अधिवेशन तथा निर्वाचनसम्बन्धी अन्तिम प्रतिवेदन बुझाउने मिति भने जेठ ३० गते निर्धारण गरिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली तयार गरी पेश गर्ने अन्तिम म्याद जेठ २५ गतेसम्म कायम गरिएको छ । यस्तै, प्रदेश अधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र केन्द्रीय तहमा बुझाइसक्नुपर्ने निर्देशन दिइएको छ । निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउने उद्देश्यले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगबारे छलफल तथा तयारीका लागि जेठ ७ देखि असार ५ गतेसम्मको समय छुट्याइएको पार्टीले जनाएको छ ।
केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा हस्ताक्षरित सूचनामा प्रदेश समितिहरूलाई जिल्ला नेतृत्वसँग समन्वय गर्दै निर्धारित कार्यतालिका अनुसार तयारी प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिइएको छ ।