काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवस तथा आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा सात जना पत्रकारलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
हरेक वर्ष जेठ ७ गते मनाइने चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३ पत्रकार अनन्त वाग्लेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित प्रदान गरिएको हो । त्यसैगरी राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान स्वर्गीय दिनेश सिटौलालाई प्रदान गरिएको छ ।
राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३ जयन सुब्बा मानन्धर र कुबेर गिरीलाई प्रदान गरिएको संघले जनाएको छ । संघका पूर्वअध्यक्ष स्वर्गीय दिनेश सिटौलाको नाममा स्थापित ‘स्व। दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ पत्रकार सुरक्षा भट्टराईलाई नगद ५१ हजार ५ सय ५५ रुपैयाँसहित प्रदान गरिएको छ ।
त्यसैगरी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ वैकुण्ठराज पराजुलीलाई नगद ५१ हजार ५ सय ५५ रुपैयाँसहित तथा राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार मिलन ढुंगानालाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरिएको थियो । सम्मानित तथा पुरस्कृत पत्रकारहरूलाई विभिन्न उपहारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता राजेश हमाल, निखिल उप्रेती, पल शाह, अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, सुरक्षा पन्तलगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । समारोहलाई सम्बोधन गर्दै अभिनेता राजेश हमालले चलचित्र पत्रकारिता र कलाकारबीचको सम्बन्धले नेपाली फिल्म क्षेत्रलाई सुदृढ बनाउन सहयोग पुगेको बताए । उनले नेपाली चलचित्र पत्रकारिताको इतिहास छोटो भए पनि यसको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
अभिनेत्री करिश्मा मानन्धरले पुराना फिल्मी पत्रिकाले नेपाली चलचित्र उद्योगलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरिन् । अभिनेता निखिल उप्रेतीले फिल्म क्षेत्रमा आवश्यक परिवर्तनका लागि पत्रकारको भूमिका प्रभावकारी हुने बताए भने अभिनेत्री रेखा थापाले कलाकार र पत्रकार एकअर्काका परिपूरक भएको धारणा राखिन् ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारिताका चुनौती र सम्भावनाबारे चर्चा गर्दै आगामी दिनमा क्षेत्र सुधारका लागि थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । संघकी उपाध्यक्ष दीपज्योति थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान तथा पत्रकार ऋषि धमलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मोडल अस्मिता पुरीले नृत्य प्रस्तुत गरेकी थिइन् भने ‘द भ्वाइस’का विजेता प्रोसेस पाण्डेले सांगीतिक प्रस्तुति दिएका थिए । समारोहमा संघद्वारा प्रकाशित क्यालेन्डर सार्वजनिक गर्नुका साथै सहयोगी संस्था तथा व्यक्तिलाई कदरपत्र प्रदान गरिएको थियो ।