काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे विवाद थप चर्किएको छ । अधिकांश पदाधिकारी ओलीको बहिर्गमनको पक्षमा देखिएपछि आजको बैठकमा ओलीले आफ्नो धारणा राख्ने तयारी गरेका छन् ।
जेठ ४ गतेदेखि सुरु भएको बैठक केही दिन स्थगित भएपछि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको हो । अध्यक्ष ओलीनिकट स्रोतका अनुसार सचिवालयमा उठेका विषय केन्द्रीय कमिटीमा लगेर विस्तृत छलफल गर्नुपर्ने प्रस्ताव ओलीले राख्ने तयारी गरेका छन् । तर, अधिकांश पदाधिकारी भने ‘पहिले नेतृत्व परिवर्तनको मार्गप्रशस्त, त्यसपछि केन्द्रीय कमिटी बैठक’ भन्ने अडानमा छन् ।
एक पदाधिकारीले अध्यक्षको बहिर्गमन अनिवार्य रहेको उल्लेख गर्दै आवश्यकता परे सचिवालय बैठकबाटै कारबाही प्रक्रिया अघि बढाएर केन्द्रीय कमिटीको अध्यक्षता गर्न नदिने विकल्पमा समेत छलफल भइरहेको बताएका छन् ।
ओली भने आफ्नो बहिर्गमन माग गर्ने नेताहरूलाई बैठकमै प्रतिवाद गर्ने तयारीमा छन् । उनले पदाधिकारीहरूको विगतको भूमिका, अभिव्यक्ति तथा प्रतिनिधिसभा निर्वाचनमा देखिएको कमजोर परिणामबारे प्रश्न उठाउने तयारी गरेको निकट स्रोतले जनाएको छ । ओलीले “मेरो कारणले भएका कमजोरीको जिम्मेवारी म लिन्छु, तर अरू नेताहरूका कारण भएका क्षतिबारे पनि समीक्षा हुनुपर्छ” भन्ने धारणा राख्ने तयारी गरेका छन् ।
महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सचिवालयका केही नेताले मात्र हटाउन नमिल्ने ओलीको मुख्य तर्क रहेको छ । पार्टीको सर्वोच्च निकाय महाधिवेशन र त्यसपछि केन्द्रीय कमिटी भएकाले सचिवालयले नेतृत्व परिवर्तनको निर्णय गर्न नसक्ने उनको अडान छ ।
बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन, स्थानीय तह निर्वाचनको तयारी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने विषय पनि छलफलमा छन् । ओली पक्षले ती एजेण्डा पारित गरेर बाँकी विषय केन्द्रीय कमिटीमा लैजानुपर्ने प्रस्ताव राखे पनि अधिकांश पदाधिकारी त्यसमा सहमत छैनन् । एक पदाधिकारीका अनुसार “फागुन २१ को जनमत र राष्ट्रिय राजनीतिको माग नै पार्टी पुनर्संरचना, रुपान्तरण र नेतृत्व हस्तान्तरण हो । प्राविधिक बहानामा बहसलाई मोड्ने छुट अब दिइँदैन ।”
अध्यक्षको विषयमा बढ्दो विवादका कारण महासचिव शंकर पोखरेलले पेश गरेको कार्यविभाजन तथा स्थानीय तह निर्वाचनसम्बन्धी योजना समेत अन्योलमा परेको छ । ओली पक्षले केही संशोधनसहित ती प्रस्ताव पारित गर्न चाहेको भए पनि अधिकांश पदाधिकारी नेतृत्व परिवर्तनको एजेण्डाबाट पछि हट्ने मनस्थितिमा छैनन् ।
हाल ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत खुलेका छन् भने उपमहासचिव लेखराज भट्ट तटस्थ देखिएका छन् । सचिव खगराज अधिकारीले यसअघि नै सार्वजनिक रूपमा ओलीले नेतृत्व नछोडे हटाइने संकेत दिएका थिए । सचिव पद्मा अर्याल र डा। राजन भट्टराई समेत नेतृत्व परिवर्तनको पक्षमा उभिएपछि ओली थप दबाबमा परेका छन् ।