काठमाडौं । नेपाल-चीन सीमा सुरक्षासम्बन्धी संयुक्त समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ। बैठकमा चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका प्रतिनिधि तथा नेपालका स्थानीय सुरक्षा अधिकारी र जनप्रतिनिधिहरू सहभागी भएका थिए।
बैठकमा चीनतर्फबाट झोङ्बा काउन्टी जनसरकारका उपकाउन्टी प्रमुख डुन्जु युजिए, सुरक्षा ब्युरोका निर्देशक लोयिङ, वैदेशिक सम्पर्क अधिकृत सिरेन झाशी लगायत आठ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो। नेपालतर्फबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी तथा स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी भएका थिए।
बैठकमा विशेषगरी कोरला नाका क्षेत्रको सुरक्षा व्यवस्थापन, सीमा आवागमनलाई सहज बनाउने उपाय तथा सीमाक्षेत्रमा हुनसक्ने चोरी, तस्करी र अन्य अवाञ्छित गतिविधि नियन्त्रणका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी दिनमा नेपाल र चीनका स्थानीय प्रशासन तथा जनसरकारबीचको सम्बन्धलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विषयमा समेत सहमति भएको छ।
बैठकको सहजीकरण लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गर्नुभएको थियो। उहाँले सीमावर्ती क्षेत्रका समस्या समाधानका लागि दुवै देशका सुरक्षा निकाय र जनप्रतिनिधिबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको बताउनुभयो।
नेपाल-चीन सीमावर्ती क्षेत्रमा यस्ता संयुक्त सुरक्षा समन्वय बैठक बर्सेनि आलोपालो आयोजना गर्ने प्रचलन रहेको छ। यसअघि चालु वर्षको भदौमा चीनको तिब्बत स्वशासित क्षेत्रअन्तर्गत झोङ्बा काउन्टीमा यस्तै बैठक सम्पन्न भएको थियो।