काठमाडौं । अमेरिका र इरानबीच सम्भावित ‘ठूलो’ सम्झौताका लागि पर्दा पछाडि तीव्र कूटनीतिक प्रयास भइरहेको जनाइएको छ । दुवै देशले एकअर्कासँग सन्देश तथा लिखित प्रस्ताव आदानप्रदान गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।
अलजजिराका अनुसार इरानी अधिकारीहरूले अमेरिका र इरान सम्झौताका निकै नजिक पुगेको दाबी गरेका छन् । यद्यपि, अन्तिम सहमति भइसकेको हो वा होइन भन्ने विषयमा अझै स्पष्टता आएको छैन । वार्ताको प्रगति सकारात्मक देखिए पनि औपचारिक घोषणा हुन बाँकी रहेको जनाइएको छ ।
यसबीच पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी इरान भ्रमणमा रहेका छन् । उनले इरानी नेतृत्वसँग होर्मुज जलमार्गको सुरक्षा अवस्था र क्षेत्रीय स्थायित्वबारे छलफल गरिरहेको बताइएको छ । विश्व व्यापार तथा तेल आपूर्तिका दृष्टिले महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गको अवस्थाले अन्तर्राष्ट्रिय बजारमा पनि चासो बढाएको छ ।
यता, अमेरिकाको हतियार भण्डारमा कमी आउन थालेको रिपोर्ट सार्वजनिक भएपछि वासिङ्टनमाथि थप दबाब परेको विश्लेषण गरिएको छ । द वासिङटन पोस्टका अनुसार इजरायलको रक्षा गर्ने क्रममा अमेरिकाले आफ्नो मिसाइल प्रतिरोधी प्रणालीको अत्यधिक प्रयोग गरेको थियो ।
रिपोर्टअनुसार अमेरिकाले इजरायललाई सहयोग गर्न २०० भन्दा बढी ‘थाड’ इन्टरसेप्टर मिसाइल प्रहार गरेको थियो । साथै, समुद्रमा तैनाथ युद्धपोतहरूबाट १०० भन्दा बढी ‘स्ट्यान्डर्ड मिसाइल–३’ र ‘स्ट्यान्डर्ड मिसाइल–६’ पनि प्रयोग गरिएको उल्लेख छ । यसका कारण पेन्टागनसँग रहेको कुल मिसाइल भण्डारको करिब आधा हिस्सा सकिएको जनाइएको छ ।
इजरायलले भने तुलनात्मक रूपमा कम मिसाइल प्रयोग गरेको बताइएको छ । इजरायलले करिब १०० वटा ‘एरो’ र झन्डै ९० वटा ‘डेभिड्स स्लिङ’ इन्टरसेप्टर मात्रै प्रयोग गरेको रिपोर्टमा उल्लेख गरिएको छ । नाम नखुलाउने सर्तमा अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार हतियारको घट्दो भण्डारले विश्व सुरक्षासम्बन्धी अमेरिकाको क्षमतामाथि प्रश्न उठाएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा अडान दोहोर्याएका छन् । उनले इरानलाई सम्वद्र्धित युरेनियम राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् । ट्रम्पले अमेरिकाले उक्त युरेनियम आफ्नो नियन्त्रणमा लिएर नष्ट गर्ने बताएका छन् ।
उनले इरानसँगको विवाद चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्दै त्यसपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोल र डिजेलको मूल्य उल्लेखनीय रूपमा घट्न सक्ने बताएका छन् ।