काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा आगामी जेठ ९ गते १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ। यस वर्ष ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजनमा कार्यक्रमलाई ‘एक्सट्रीम स्याटर्डे’ नाम दिइएको आयोजकले जनाएको छ।
दरबारमार्ग विकास बोर्ड को पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्स द्वारा आयोजना हुन लागेको महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछ। आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। महोत्सवअन्तर्गत बालबालिकाका लागि विभिन्न खेल, ३x३ बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, कस्प्ले तथा फोटो बुथको व्यवस्था गरिनेछ। साथै विभिन्न परिकारका खाना तथा पेय पदार्थका स्टल पनि रहनेछन्।
सांगीतिक कार्यक्रममा मुख्य तथा सहायक स्टेजमार्फत विभिन्न चर्चित कलाकार तथा डिजेहरूको प्रस्तुति रहनेछ। आयोजकका अनुसार कार्यक्रममा जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एसटी म्यान, जे अथर, सालिन मगर एण्ड ब्याण्ड, प्रिजोल नेपाली एण्ड सरर तथा गन एल्भिस को प्रस्तुति रहनेछ।
कार्यक्रम सञ्चालन रेमन दास श्रेष्ठ, रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जन ले गर्नेछन्।
आयोजकका अनुसार दरबारमार्ग स्ट्रिट फेस्टिभलले काठमाडौंको सांस्कृतिक तथा पर्यटकीय पहिचान प्रवर्द्धन गर्दै आएको छ। यस वर्षको ‘एक्सट्रीम स्याटर्डे’ अझ भव्य, ऊर्जावान् र स्मरणीय बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।