काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’ले प्रधानमन्त्री वालेन्द्र शाहको संसदीय कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका छन्।
शुक्रवार जारी विज्ञप्तिमार्फत राईले प्रधानमन्त्री शाहले संसद र संसदीय परम्पराको सम्मान नगरेको आरोप लगाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि प्रधानमन्त्री स्वयं संसदबाट बाहिरिएको र पुनः उपस्थित नभएको घटनालाई उनले लोकतान्त्रिक अभ्यासको अवमूल्यनका रूपमा चित्रण गरेका छन्।
राईका अनुसार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा समेत प्रधानमन्त्री संसदमा अनुपस्थित रहे। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दा पनि उनी संसदमा उपस्थित नभई आफ्नै कार्यालयबाट प्रत्यक्ष प्रसारणमार्फत संसदका गतिविधि हेरेको आरोप उनले लगाएका छन्।
विज्ञप्तिमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने संसदीय परम्परा रहेको उल्लेख गर्दै उक्त जिम्मेवारीबाट प्रधानमन्त्री पन्छिएको टिप्पणी गरिएको छ। संसदका बैठकहरूमा जनतालाई प्रत्यक्ष सम्बोधन नगर्नुलाई समेत राईले गैरजिम्मेवार व्यवहारको संज्ञा दिएका छन्।
“संसदको मर्यादा कायम राख्न नसक्ने प्रधानमन्त्री असक्षम र असफल हुन्,” विज्ञप्तिमा उल्लेख छ। उनले यस्तो गतिविधिले संसदीय अभ्यासको इतिहासमा “कालो धब्बा” लागेको दाबी गरेका छन्। राईले संसदलाई बेवास्ता गर्दै सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप पनि लगाएका छन्। सीमा सुरक्षा, जनजीविका तथा नागरिकका आधारभूत समस्यामा सरकार असफल भएको उल्लेख गर्दै उनले वर्तमान सरकारप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्।
उनले जनताको सार्वभौम संस्थाको सम्मान गर्न नसक्ने व्यक्तिले नैतिकताको आधारमा पदमा बसिरहन नमिल्ने जिकिर गरेका छन्।