काठमाडौं । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै कृषि विकास, पर्यटन प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा युवा पलायन रोकथामका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
छलफलका क्रममा सांसद महन्थ ठाकुरले गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। उनले स्थिर नीति र लगानीमैत्री वातावरणमार्फत मुलुकको आर्थिक विकासलाई गति दिन सकिने धारणा राखे।
सांसद धर्मेन्द्र पासवानले नीति तथा कार्यक्रममा मधेस प्रदेशको कृषि विकासलाई पर्याप्त प्राथमिकता नदिएको आरोप लगाए। मध्यमवर्गका लागि केही सकारात्मक व्यवस्था भए पनि मधेसको कृषि र पर्यटन क्षेत्रलाई समेट्न सरकार चुकेको उनको टिप्पणी थियो।
सांसद उर्मिला अर्यालले कृषिको वृद्धिदर पाँच प्रतिशत पुर्याउन सके मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने बताइन्। उनले मौलिक बीउ संरक्षण तथा प्रवर्द्धन, वीरगञ्ज चिनी कारखानाको पुनः सञ्चालन र दुग्ध विकास संस्थानको स्तरोन्नतिमा जोड दिइन्। साथै मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरिन्।
सांसद सोनामगेल्जेन शेर्पाले पर्यापर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताए। उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि भारत र चीनसँग कूटनीतिक पहल आवश्यक रहेको धारणा राखे।
यसैबीच, सांसद सुनिलबहादुर थापाले युवाको निरन्तर विदेश पलायन रोक्न स्वदेशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सके मुलुकको आर्थिक अवस्था सुदृढ हुने बताए।