काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनामा ठूलो परिमाणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार दायर गरेको आरोपपत्रमा प्रतिवादीहरूसँग ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो असुल उपर गर्न माग गरिएको छ। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित तेस्रो भ्रष्टाचार मुद्दा हो।आयोगका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच भएको मूल खरिद सम्झौतामा निर्माण लागतभित्रै कर, महसुल तथा अन्य शुल्क समावेश थिए।
सम्झौताअनुसार ती कर तथा शुल्क निर्माण कम्पनीले नै व्यहोर्नुपर्ने व्यवस्था थियो। तर सरकारी अधिकारीहरूको मिलेमतोमा मूल सम्झौताविपरीत कार्यान्वयन सम्झौता तयार गरी कम्पनीलाई कर छुट दिइएको अख्तियारको निष्कर्ष छ। यसरी कम्पनीले निर्माण लागतमा समावेश भएको करसमेत भुक्तानी लिएर दोहोरो लाभ लिएको र राज्यकोषमा दाखिला हुनुपर्ने राजस्व गुमेको आयोगले जनाएको छ।
अख्तियारले यसलाई सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग मानेको छ। आयोगका अनुसार उक्त रकम नेपाल सरकारले ऋणस्वरूप प्राप्त सार्वजनिक स्रोतबाट खर्च गरिएको थियो। मुद्दामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, डण्डुराज घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, आयोजना निर्देशक प्रदीप अधिकारी, इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, उपसचिव युगराज पाण्डे र शाखा अधिकृत उर्मिला भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ।
चिनियाँ पक्षबाट चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड, कम्पनीका अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ झिगाङलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।
यसअघि पनि पोखरा विमानस्थल प्रकरणमा अख्तियारले दुई वटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। ती मुद्दामा पूर्वमन्त्री भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीको नाम जोडिएको थियो। बोगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको थियो।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नामसमेत जोडिएपछि पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा मुछिने पूर्वमन्त्रीहरूको संख्या ६ पुगेको छ। अख्तियारले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगो बराबर जरिवाना तथा बिगो असुल उपरको माग गरेको छ। विशेष अदालतले अब मुद्दाको प्रारम्भिक सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।