काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता आगामी मे १, २ र ३ तारिखमा काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुने जनाइएको छ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। आयोजकका अनुसार, प्रतियोगिताले विभिन्न अग्रणी कर्पोरेट संस्थाहरूलाई एकै मञ्चमा ल्याउँदै खेलकुदमार्फत सहकार्य, आपसी सम्बन्ध विस्तार तथा नेटवर्किङ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
यस प्रतियोगितामा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रमेश कर्प, हिमालयन एभरेस्ट इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक तथा साविक विजेता क्लाउडफ्याक्ट्रीसहित १२ टोलीको सहभागिता रहनेछ।
आयोजकका अनुसार, प्रतियोगिताको उद्देश्य कर्पोरेट क्षेत्रभित्र आपसी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै खेलकुदमार्फत कार्य-जीवन सन्तुलनलाई प्रोत्साहन गर्नु रहेको छ।
राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका प्रतिनिधिले यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई साझा उद्देश्यका लागि मानिसहरूलाई एकत्रित गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन्।
आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग पुर्याएकोमा सन नेपाल लाइफ इन्स्योरेन्सप्रति आभार व्यक्त गर्दै यसले प्रतिस्पर्धा, सहकार्य र सामाजिक उत्तरदायित्वबीच सन्तुलित समन्वय प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।