काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण र संशोधनको काम अब फाष्ट ट्रयाकमा अघि बढाइने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित लायन्स क्लबको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपालमा अझै धेरै क्षेत्रमा कानून, ऐन, नियमावली र कार्यविधि निर्माण तथा संशोधन गर्न बाँकी रहेको उल्लेख गर्दै राष्ट्र र राष्ट्रियताका लागि इमान्दार र निष्पक्ष ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “कुनै पनि कानूनले कसैको अहित गरेको छ भने त्यसलाई तत्काल संशोधन गरिनेछ,” उनले भने, “ढिलाइ हुँदा समस्या झन् बढ्ने भएकाले मेरो प्राथमिकता फाष्ट ट्रयाकमा काम अघि बढाउनु हो।”
सभामुख अर्यालले कानून निर्माण प्रक्रियामा कुनै पनि पक्षपात नगरी निष्पक्ष रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा उनले लायन्स क्लबले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै त्यसका गतिविधिहरू मिडियामा पर्याप्त रूपमा नआएकोमा चिन्ता व्यक्त गरे। सञ्चारमाध्यमले यस्ता सकारात्मक कामप्रति अपेक्षित ध्यान नदिएको उनको भनाइ थियो।
“देशभर लायन्स क्लबले उल्लेखनीय काम गरिरहेको छ, तर त्यसको चर्चा मिडियामा कम देखिन्छ,” उनले भने, “सञ्चारमाध्यमको ध्यान किन नपुगेको हो भन्ने प्रश्न उठ्छ।”
उनले मिडियाले यस्ता सामाजिक कार्यहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै समाचारको सन्तुलनमा ध्यान दिन आग्रह समेत गरे।