काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुम्भ’को पहिलो गीत ‘स्वर्गकी परी’ सार्वजनिक गरिएको छ । शुक्रबार निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै अन्जु पन्त र अनुप तिवारीको स्वरमा रहेको गीत सार्वजनिक गरेको हो । रोमान्टिक भावको यस गीतमा शब्द रचना रन्धिर श्रेष्ठ र संगीत अनुप तिवारीको रहेको छ ।
भारतको मङ्गलोर सहरको समुन्द्री तट क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी अशोक आर्यन र सृष्टि खड्का देखिएका छन् । उनीहरूलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतका कोरियोग्राफर रोबर्ट बडाइला हुन् भने छायांकन रन्धिर श्रेष्ठले गरेका हुन् । रन्धिर फिल्मका निर्देशक समेत हुन् ।
नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन हुने यस फिल्ममा अशोक र सृष्टिसहित सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा, वसन्त भट्टराई, आरजे सापकोटा, विजय यादव, महेन्द्र मैनाली, भोला शाह, सुरेन्द्र ठाकुर, आनन्द चतुर्वेदी लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा निर्देशक श्रेष्ठ स्वयंको लेखन रहेको छ ।
ए-रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरू रन्धिर श्रेष्ठ र राजेश साह हुन् । कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती रहेका छन् । निर्देशक श्रेष्ठ स्वयंको छायांकन तथा सम्पादन रहेको फिल्ममा सञ्जय थापा (नेपाल) र प्रदीप खड्का (भारत)को द्वन्द्व निर्देशन, शैलेन्द्र बाबु प्रधानको पार्श्व संगीत तथा जुनिम गहतराजको रंग संयोजन छ ।